आँधीमूलको पानी थुनेर कृत्रिम ताल बनाइने


Tanahun, aandhimul

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा अवस्थित छ, आँधीमूल मन्दिर । प्यागोडाशैलीको मन्दिर, उद्यान, दुई पोखरी र माछाको आकृतिका २३ धारालगायतका संरचना पर्यटकका लागि मुख्य आकर्षण बन्ने गरेका छन् ।

पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेकाले गाउँपालिकाले यस क्षेत्रको विकासमा प्राथमिकता दिएर काम गर्दै आएको छ । गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विकास गर्न विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको वडाध्यक्ष प्रेमबहादुर गुरुङ बताउँछन् ।

आँधीमूलमा दर्शन तथा भाकल गरेमा मनले चिताएको पुग्ने जनविश्वास छ । उक्त मन्दिरमा तनहुँ, कास्की, स्याङ्जा, गोरखा, लमजुङलगायत स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका छन् । आँधीमूल देवीको मन्दिरमा परेवा चढाउने, बोका र कुखुरा बलि दिने चलन छ ।

पृथ्वीराजमार्गको सत्रसयफाँटदेखि करिब साढे दुई किलोमिटर दूरीमा आँधीमूल मन्दिर पर्दछ । उक्त दूरीको सडकमध्ये करिब सात सय मिटर कालोपत्र गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

सडक कालोपत्र गर्न एक करोड ३० लाख खर्च भइसकेको छ । एक करोड पचासी लाखको काम हुन अझै बाँकी छ । अध्यक्ष चुमानका अनुसार आँधीमूलमा रहेको पानीलाई थुनेर कृत्रिम ताल निर्माण गर्न लागिएको छ ।

करिब १५ रोपनी क्षेत्रफलमा बनाइने तालका लागि गाउँपालिकाबाट ५० लाख विनियोजन गरिएको छ । उक्त कार्यका लागि अहिले डिपिआर कार्य भइरहेको छ । पृथ्वीराजमार्ग सत्रसयदेखि पैदल हिँड्दा करिब एक घण्टा लाग्छ भने सवारीसाधनमार्फत बीस मिनेटमै पुग्न सकिनेछ ।

गाउँपालिकाकै प्रमुख पर्यटकीय धार्मिकस्थलका रुपमा आँधीमूल मन्दिर परिचित रहेकाले यसलाई कायम राख्दै अझ व्यवस्थित गर्न लागिएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा पूरै सडक कालोपत्र गर्ने गरी काम अघि बढाइएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

मन्दिरसम्म सडक कालोपत्र सम्पन्न भएपछि आँधीमूलसम्म पुग्न पर्यटकलाई सहज हुनाका साथै पर्यटकको सङ्ख्या अझै वृद्वि हुने विश्वास गरिएको छ ।

आँधीमूल पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । पर्यटकको चहलपहल बढ्न थालेसँगै यस ठाउँमा थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाको छ । गाउँपालिकाले गत वर्ष तारबार लगाएको थियो । त्यहाँ ट्रष्ट निर्माण गरिएको छ ।

९ आश्विन २०७९