लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो


टुरिजम पाना सोलुखुम्बु । २० पुष २०७९

तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप बढेको छ ।

मौसममा आएको खराबीका कारण यही पुस १४ गते यता उडान रहेको र मौसममा सुधार आएसँगै अहिले लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

तेन्जिङ हिलारी विमानस्थलबाट अहिले दैनिक सातभन्दा बढी उडान भइरहेका छन् भने अधिकांश विमानमा फर्किने यात्रुको चाप अधिक रहेको जनाइएको छ ।

प्राधिकरण प्रमुख महेश श्रेष्ठका अनुसार काठमाडौँ तथा मन्थलीबाट अधिकांश विमानले कार्गो लिएर आउने गरेका छन् । ती विमानले फर्किंदा लुक्लाबाट यात्रु लिएर जाने गरेका छन् । चिसो अत्यधिक बढेकाले चिसो छल्न खुम्बु छाड्नेको सङ्ख्या बढेसँगै फर्किने यात्रुको चाप अधिक भएको हो ।

त्यसका कारण एयरलाइन्सहरुका टिकट काउन्टरमा पनि यात्रुको चाप अधिक रहेको प्रमुख श्रेष्ठले बताए। मौसममा सुधार भएसँगै सोमबारदेखि नियमित उडान भइरहेको प्राधिकरणले जनाएको छ । रासस

२० पुष २०७९