पर्यटन प्रवद्र्धन र विकासका लागि आँबुखैरेनी गाउँपालिकाले छुट्टायो ३ करोड ५० लाख बजेट


टुरिजम पाना तनहुँ । ५ मंसिर २०७९
Ambukhaireni rural municipality

तनहुँको आँबुखैरेनी क्षेत्र धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ । कुल ६ वटा वडा भएको आँबुखैरेनी गाउँपालिकामा तनहुँकै अग्लो छिम्केश्वरी डाँडा यही पर्छ ।

यसको देउराली क्षेत्रमा ऋषि, महर्षि तपस्वीहरुले तपस्याको लागि प्रयोग गरेका थिए । यो गाउँपालिका तनहुँ जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्रभूमिको रुपमा रहेको छ ।

भुबनोटमा विविधता रहेको यो आँबुखैरेनी विभिन्न जातजातिको कला संस्कृतिले धनी छ । यहाँ कौरा नाच, झ्याउने नाच लगायतका विभिन्न संस्कृतिले भरिपुर्ण रहेको छ । यसको पूर्वी क्षेत्र चितवन र गोरखा जिल्ला र दक्षिणमा देवघाट गाउँपालिका र चितवन जिल्लाको बीचमा पर्छ । आँधिमुल, अकला मन्दिर, छिम्केश्वरी, देउराली यहाँका पर्यटकीय क्षेत्र हुन् ।

आँबुखैरेनी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम अन्तर्गत पर्यटन प्रवद्र्धन र विकासका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

जसमध्ये नमुना पर्यटकीय गाउँका लागि ५० लाख, ऐना पार्क पर्यटन पूर्वाधारका लागि १ करोड ४० लाख, आँधिमूल पर्यटन पूर्वाधारका लागि ५० लाख, छिम्केश्वरीको पर्यटन प्रवद्र्धनका लागि १ करोड, मस्र्याङ्दी नदीमा जल पर्यटनको विकासकालागि १० लाख रकम बिनियोजन गरेको अध्यक्ष चुमानले जानकारी दिए ।

५ मंसिर २०७९