पर्यटकीय गन्तव्य बागलुङ कालिकालाई कलात्मक बनाईदैं


टुरिजम पाना बाग्लुङ । १८ माघ २०७९

गण्डकी प्रदेशका प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरलाई कलात्मक बनाउन थालिएको छ ।

एउटा धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्दर्यतामा समस्या ल्याएको जनाउँदै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढङ्गले आफ्ना संरचना रुपान्तरण गर्न थालेको हो ।

कालिका मन्दिर सुधारको पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रम अन्तर्गत कालिका मन्दिरको स्वरुपलाई कलात्मक बनाउने कामको थालनी गरिएको छ । बाहिरी आवरण नयाँ भए पनि कालिका मन्दिरको भित्री संरचना जीर्ण भएकाले कलात्मक स्वरुप देखिनेगरी कालिका मन्दिरको पुनःनिर्माण गर्न थालिएको कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

अहिले मन्दिरको बाहिरी आवरण इटैइँटाको छ भने ताम्रापत्रले छाएको छानोसमेत चुइने भएकाले मन्दिरलाई कलात्मक तरिकाले रुपान्तरण गर्न थालिएको हो । कालिका मन्दिरको भित्री संरचना जीर्ण भएको, तामाको छानो चुहिने भएका कारण कालिका मन्दिरको भित्री संरचना मर्मत गर्दै नयाँ तामाको छानो छाइन थालिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

“कालिका मन्दिरको स्वरुपलाई कलात्मक बनाइने र मन्दिरको भित्री भागमा रहेको काठलाई परिवर्तन गर्ने हो, केही संरचनालाई विभाजन गरेर पुनःनिर्माण गर्ने हो” उनले भने “मर्मत सम्भारपछि मन्दिरको बाहिरी संरचना अहिलेको भन्दा बढी कलात्मक हुनेछ, पुरातात्विक बन्ने छ ।” उनका अनुसार मन्दिर क्षेत्रमा निर्माण हुने अन्य संरचनासमेत कलात्मक र पुरातात्विक हुनेगरी निर्माण थालिएको हो ।

मन्दिरको सत्तल निर्माणमा रु ७० लाख र मन्दिरको ताम्रापत्र र भित्री संरचना मर्मत र कलात्मक बनाउन रु ४० लाख र हवनकुण्ड निर्माण गर्न रु १३ लाख खर्चको अनुमान गरिएको गुठी व्यवस्थापन समितिले जनाएको छ ।

कालिका मन्दिरको स्वरुप विग्रदै गएकोमा स्थानीय अधिकारकर्मी, पत्रकार तथा सरोकारवाला निकायले चासो देखाएपछि गुठी व्यवस्थापन समितिले मन्दिरलाई कलात्मक र पुरातात्विक बनाउन थालिएको हो ।

१८ माघ २०७९