बालाचतुर्दशी : किन मनाईन्छ ?, कहाँ लाग्छ मेला ?


टुरिजम पाना काठमाडौं । ६ मंसिर २०७९
bala chaturdashi

प्रत्येक बर्ष मंसिर महिनाको कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी एक परम्परागत पर्व हो । सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ । विशेषगरी पितृहरूको उद्धारको सम्झनामा मनाईने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भन्ने गरिन्छ ।

पछिल्लो वर्ष दिवंगत भएका आफन्तको चीर शान्ति, मंगल र पुण्यको कामना गरी वन क्षेत्रमा शतबीज छर्ने चलन रहँदै आएको छ । मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ ।

किम्वदन्ती

परापूर्वकालमा पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खाने बेला त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको खाजामा परेको र सो गिदीसँगै खाजा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

मानिसको गिदी खाने कार्य तथा लामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंह मार्फत उसलाई मार्न लगाएको किम्वदन्ती छ ।

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिएकाले मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमको भनाइ छ ।

माता पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नु नहुने गौतमको भनाइ छ । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ। यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ।

शतबीजमा के छरिन्छ ?

शतबीज (सयवटा बिउ) भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहूँ, चना, मकै, कागुनो) रोपण गरिने गरिन्छ । नेपालीमा शतम्को अर्थ सय र बीजको अर्थ बीउ हुन्छ ।

यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिएतापनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिने गरिन्छ । यसका साथै केरा, उखु, सुन्तला, अनार, भोगटे कागती, निबुवा, विमिरो, अमला छरिन्छ । त्यस्तै मुलाका चाना,गाजर, खुर्सानी र ऋतु पुष्पहरु छर्ने गरिन्छ ।

कहाँ लाग्छ मेला ?

यो दिन पशुपति लगायत विभिन्न ठाउँमा सतबिज रोपणका लागी ठूलो मेला लाग्ने गर्दछ । अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ । जसले गर्दा नेपालको पूर्वदेखि पश्चिम महाकालीसम्मका मानिसहरू मात्र नभई छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरु पशुपति आइपुग्छन् ।

आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्गा कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदि ठाउँमा सतबीज छरिन्छ ।

पशुपति क्षेत्रबाहेक राजधानीका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत धेरै शिवालयमा शतबीज छर्नेको मेला लाग्छ ।

यसबाहेक पूर्वको पशुपतिनाथको रुपमा परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा पनि बालाचर्तुदशीको विशेष मेला लाग्दछ । झापाको शिवसताक्षी नगरपालिकामा पर्ने एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम पनि यस पर्वका लागि परिचित छ । यहाँको शिवालय मन्दिरमा समेत शतबीज छर्न भक्तजन पुग्ने गर्दछन् ।

यसबाहेक पूर्वकै सुनसरीको बराह क्षेत्र, विष्णुपादुका, रामधुनी मन्दिर मा बालाचतुर्दशीको दिन शतबीज छर्ने भक्तजनकाे ठूलो मेला लाग्छ ।

खोटाङको हलेसीमा पनि मेला भर्न तथा दर्शन गर्नका लागि जिल्लाभित्र तथा बाहिरका हजारौं दशानार्थीको घुइँचो लाग्ने गर्छ ।

यस्तै, रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबमधाम, बुटवल नयाँगाउँ स्थित मुक्तिधाम , सिद्धबाबा धाम लगायतका शिवालयहरुमा बिहानैदेखि सत्बिज छरिँदैछ ।

त्यस्तै गुल्मीकाे चक्रेश्वरधाममा पनि मेला लाग्ने भएकाले त्यहाँ चन्द्रकाेट गाउँपालिकाले सार्वजनिक बिदा नै दिएकाे छ ।

लमजुङ र तनहुँको सिमाना पर्ने पाउँदी र मर्स्याङ्दी नदिको सङ्गममा पनि मेला लाग्ने गर्दछ । यस्तै पर्वत, स्याङ्जा र कास्कीको सिमानामा पर्ने पञ्चासे, चितवनको माडीस्थित वैकुण्ठधाम, तनहुँ र चितवनको सिमानामा पर्ने प्रसिद्ध देवघाट, पाल्पा र स्याङ्जाको संगमस्थल राम्दी र सेतीवेणी र खोटाङको हलेसी लगायतका स्थानहरुमा मेला लाग्दछ ।

६ मंसिर २०७९