भेडेटार देवीस्थान जिपलाइन

भेडेटार पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य हो । यहाँ सञ्चालित ‘भेडेटार देवीस्थान जिपलाइन’का कारण पनि भेडेटार पछिल्लो समय आकर्षणको केन्द्र बनेको छ ।

भेडेटार गेटमा टेकअफ हुने जिपलाइनको देवीस्थानमा ल्यान्डिङ प्वाइन्ट छ । ६ सय ५० मिटरको दुरी भएको जिपलाइनमा करिब ४५ सेकेण्डको अनुभव लिन पाइन्छ । यहाँ सुपरम्यान, क्लासिक र टेण्डम तीनै किसिमको जिपलाइनको सुविधा छ ।

सञ्चालक विवश भण्डारीका अनुसार, ‘डबल वायर सिस्टम’ राखिएकाले क्लासिक र सुपरम्यान जिपलाइन पनि दुई जनाले एकै पटक खेल्न सकिनेछ ।

कसरी पुग्ने ?

भेडेटारको जिपलाइन धरानदेखि १६ किलोमिटरको दुरीमा छ । धरानदेखि सार्वजनिक यातायात सजिलै पाइन्छ ।  यसबाहेक आफ्नै सवारी साधनमा पनि बाटो राम्रो भएकाले सहजै पुग्न सकिन्छ । 

कति लाग्छ शुल्क ?

क्लासिक जिपलाइनः १२००

सुपरम्यान जिपलाइनः १५००

टेन्डम (जोडी) जिपलाइनः २०००

फोटो भिडियो प्याकेजको अतिरिक्त ३५० रुपैयाँ । 


आसपासका गन्तव्य:

भेडेटार बजार नजिकै सानो पाथिभरा मन्दिर दर्शन गर्न सकिन्छ । बजार नजिकै रहेको भ्यु टावरबाट तराईका फाँटहरू, कोशी ब्यारेज र धरान बजारको अवलोकन गर्न सकिन्छ । भेडेटारबाट ५ किलोमीटर दुरिमा धनकुटा तर्फ नमस्ते झरना रहेको छ । 


के ख्याल गर्ने ?

जिपलाइन खेल्दा हार्नेस लगाउन पर्ने भएकाले वान पिस, साडी, लुङ्गी जस्ता कपडा भन्दा पाइन्ट, हाफ पाइन्ट, ट्राउजर, कुर्ता सुरवाल लगाउँदा सजिलो हुन्छ ।  सुपरम्यान जिपलाइन खेल्नेलाई हावाले गर्दा आँसु आउन सक्छ, चस्मा लगाएर खेल्दा राम्रो हुन्छ । 


कोशेली:

धनकुटे कोकोनट बिस्कुट, छुर्पी भेडेटारबाट कोशेली ल्याउन सकिन्छ । सिजनमा पुर्वी पहाडमा फलेका सुन्तला र एभोकाडो पनि सस्तोमा पाइन्छ ।

Light-Pink-Beautiful-Customer-Review-Serum-Instagram-Post-2-1