गण्डकी प्रदेश सरकारले स्थानीय भाषा संरक्षण गर्न कामकाजका भाषामा समावेश गर्ने नीति लिएको छ । यसका लागि तनहुँको व्यास नगरपालिकाले सामुदायिक विद्यालयमा मगर भाषा कक्षा सञ्चालन गर्ने उद्देश्यले प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण थालेको छ ।
प्रदेश सरकारले मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने नीति लिएसँगै नगरपालिकाले मगर भाषाको संरक्षणको निम्ति प्रशिक्षक उत्पादनमा जुटेको हो । नगरपालिकाले मगर विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा अतिरिक्त कक्षाको रूपमा मगर भाषामा पठनपाठन गर्ने तयारी गरेको छ । मगर भाषाको पाठ्यक्रम कार्यान्वयनमा ल्याउन नगरपालिकाको सहयोगमा शिक्षकलाई प्रशिक्षण दिइरहेको छ ।
नेपाल मगर सङ्घ व्यास नगर समितिको आयोजनामा र व्यास नगरपालिकाको सहयोगमा शनिबारदेखि पाँच दिने मातृभाषा प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण सञ्चालन गरेको छ । तालिम लिएपछि मातृभाषा शिक्षकले विद्यालयमा मगर भाषाको पाठ्यक्रमअनुसारको पठनपाठन गराउने छन् । पठनपाठनमा सहज बनाउन मगर भाषामा कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले विभिन्न समुदायको पहिचानसँग जोडिएका भाषा, साहित्य, कला, संस्कार र संस्कृति संरक्षणलाई प्राथमिकतामा राखिएको बताए । नगरवासीको भाषा, कला, संस्कार, संस्कृति, साहित्य, पर्यटन तथा पुरातात्विक क्षेत्रको संरक्षण गर्ने उद्देश्य प्रज्ञा प्रतिष्ठान गठनको बताउँदै उनले मगर भाषाको संरक्षण तथा प्रवद्र्धनका प्रशिक्षण दिइएको बताए ।
भाषाको संरक्षणका साथै सिकाइ प्रभावकारी बनाउन मातृभाषा कक्षाले सहयोग पुग्ने उनको भनाइ छ । गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रूपमा मगर र गुरुङ भाषालाई प्रयोगमा ल्याउन नीति लिएसँगै यस्ता तालिमले मद्दत पुग्ने नगर प्रमुख न्यौपानेको विश्वास छ । रासस