क्यानोनिङका क्रममा लडेर पोखरामा एक युवतीको मृत्यु


टुरिजम पाना संवाददाता काठमाडौं । ११ श्रावण २०८०
तस्वीर: गुगल

कास्कीको माछापुच्छ्रेमा क्यानोनिङ गर्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ।

माछापुच्छ्रे गाउँपालिका–९ घलेलस्थित पोखरा क्यानोनिङमा क्यानोनिङ गर्ने क्रममा चिप्लिएर लड्दा पोखरा महानगरपालिका–२६ बुढीबजार निवासी २२ वर्षिया अञ्जिता भण्डारीको मृत्यु भएको हो।

क्यानोनिङ गर्न बुधबार घलेल पुगेकी भण्डारी चारबजेतिर क्यानोनिङ गर्ने क्रममा अचानक चिप्लिएर लडेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, उनी करिब एकसय मिटर माथिबाट खसेर पानीमा बजारिएकी थिइन् ।

उनलाई तत्काल उद्धार गरेर मणिपाल शिक्षण अस्पताल लगिएपनि चिकित्सकले पाँचबजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए ।

क्यानोनिङ साहसिक खेल हो। जसलाई जोखिमयुक्त खेल पनि भनिन्छ। मनोरञ्जनात्मक खेलका रुपमा लिईने क्यानोनिङमा करिब एकसय मिटर माथिबाट डोरीको सहायतामा पहराबाट झर्दै झरनाको आनन्द लिने गरिन्छ ।

डोरी बाँध्नुअघि नै लडेमा वा बीचमा डोरीको तालमेल मिलाउन नजानेमा पनि यो जोखिमपूर्ण हुने पोखरा क्यानोनिङका सञ्चालक राम गुरुङ बताउँछन्।

बुधबारको घटनामा पनि डोरी बाँध्नु अघि नै युवती अचानक चिप्लिएर लडेकाले मानवीय क्षती हुन पुगेको सञ्चालक गुरुङको भनाई छ।

उनले भने,’प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिले यसबारे थप भन्न सक्दिन।’

यता डिएसपी) श्रवणकुमार विकले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

 

११ श्रावण २०८०