नेपालकै ठूलो एक्वीरियम सहित पुम्दिकोटमा ड्रिम सिटी पार्क, कसरी पुग्ने ? कति लाग्छ शुल्क ?


उपासना शर्मा पुम्दिकोट, पोखरा । १६ चैत्र २०७९

पर्यटकीय नगरी पोखराको ‘नेचुरल भ्यु पोइन्ट’ पुम्दीकोटमा मनोरञ्जन पार्क ‘ड्रिम सिटी’ सञ्चालनमा आएको छ ।

ड्रिम सिटी प्रालिको १४ करोड रुपैयाँ लगानीमा ड्रिम सिटी सञ्चालनमा आएको हो । सो पार्कमा विशेष गरि विनोद पौडेल, श्यामकुमार बजगाईं र दिवश गुरुङ लगायतको साझेदारी रहेको छ ।

१२ रोपनी क्षेत्रफलमा फैलिएको सो पार्कमा ‘विसिङ ह्याण्ड’, अम्ब्रेला पार्क, हट एयर बलुनको फोटो बुथ, सिसाको स्काई वाक, रेष्टुरेन्ट लगायत सञ्चालनमा आइसकेको छ भने नेपालकै ठूलो एक्वीरियम तयार हुने क्रममा रहेको छ ।

पार्क भित्रै रहेको रेष्टुरेन्टमा ३ स्टार स्ट्याण्डर्डकै ४ सय फरक खानाका परिकारहरू सुपथ मूल्यमा उपलब्ध गराइने कम्पनीका सञ्चालक श्याम बजगाईंले जानकारी दिए । रेष्टुरेन्ट र बारमा एकैपटक २ सय जनाले सेवा लिन सक्नेछन् ।

परियोजनाभित्र होटलबाहेक अम्ब्रेला पार्क तथा सिसाको पुल तथा  हट एयर बेलुन समेत रहेको छ । जसमा पर्यटकहरूले फोटो भिडियो बनाउने तथा आरामदायी समय बिताउन सक्नेछन् । पुम्दिकोटमा रहेको प्रसिद्ध महादेवको मूर्ति नजिकै पार्क रहेको छ । सो ठाउँमा जाँदा पार्क र पुम्दिकोट महादेवको एउटै समयमा अवलोकन गर्न सकिन्छ ।

सो पार्कबाट अन्नपूर्ण, माछापुच्छ्रे हिमाल, धौलागिरी, फेवाताल, स्तुपा लगायतको दृश्यावलोकन गर्न सकिने उनले जानकारी दिए ।

सो परियोजना एउटा क्रुज शीप आकारमा निर्माण गरिएको छ । रातको समयमा बलेका बत्तीका सुन्दर दृश्यले परियोजनालाई थप आकर्षक बनाएको छ । स्थानीयको जग्गा लिजमा लिएर परियोजना निर्माण गरिएको हो ।

रात्रिकालिन दृश्य

नेपालकै ठूलो एक्वीरियम

कम्पनीले ‘ड्रिम सिटी’ परियोजना अन्तर्गत नेपालकै ठूलो एक्वारियम बनाएको छ ।

१२ रोपनी क्षेत्रफलमा फैलिएको सो परियोजनामा ४८ फीट लामो एक्वारियम बनाइएको छ । जुन नेपालकै ठूलो भएको दाबी कम्पनीको दाबी छ । एक्वीरियमभित्रै टनेल छ जसमा हिँडेर एक्वीरियमको अवलोकन गर्न सकिनेछ । एक्वारीयम तयार भइसकेपश्चात अबको दुई महिनाभित्रमा पूर्ण रुपमा सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ । Dream city park, pokhara

सञ्चालक बजगाईंका अनुसार, विभिन्न जातका माछा राखेर परीक्षण गर्ने काम अहिले एक्वीरियममा भइरहेको छ ।

दुवई र भारतको चेन्नईमा रहेको एक्वीरियमको डिजाइन यहाँ पनि राखिएको सञ्चालक बजगाईंले बताए । एक्वीरियममा प्रवेश गरेपछि परियोजना शुरू हुने गरि परिसर तयार गरिएको छ ।

कति लाग्छ शुल्क ?

कम्पनीले परियोजनामा जाने पर्यटकहरूलाई निकै सहुलियत दरमा शुल्क राखिएको सञ्चालक बजगाईंले बताए । उनका अनुसार, पार्क भित्र प्रवेश गर्न १५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यसपछि भित्र रहेका अम्ब्रेला पार्क, विसिङ ह्याण्ड लगायतको अवलोकनमा एक सय ५० देखि २०० रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ ।

उनका  अनुसार करिब ५ सय ५० रुपैयाँमा पार्कको पूरै अवलोकन हुनेछ । यद्यपी रेस्टुरेन्टमा खाना/खाजा खाएको भने निर्धारित शुल्क तिर्नुपर्नेछ । ‘थ्री स्टार’ लेवलको खाना थ्री स्टारमा पर्नेभन्दा कम मूल्यमा नै खान सकिने कम्पनीका सञ्चालक बजगाईंले जानकारी दिए ।

फागुन २९ देखि परियोजना भ्रमणका लागि खुला भइसकेको छ ।   

कसरी पुग्ने ?

घुम्नका लागि पोखरा पुगेका पर्यटकहरूले सहजै सो परियोजनामा पुग्न सक्छन् । परियोजना पोखराको  पुम्दीकोटमा रहेको छ ।  परियोजनामा जानका लागि सार्वजनिक यातायात, ट्याक्सी तथा निजी यातायात सहजै पुग्न सकिनेछ । सार्वजनिक यातायात जानका लागि पृथ्वीचोकमा रहेको बसपार्कबाट बस चढ्नुपर्नेछ । करिब एक घन्टाको अन्तरमा बस छुट्छ । पुम्दिकोट महादेव मन्दिरबाट २ सय मिटर पश्चिममा पार्क रहेको छ ।

यस्तै ट्याक्सीमा जाने हो भने जाने र आउने दुवै सुविधा पाउन सकिन्छ । जसका लागि करिब २ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

१६ चैत्र २०७९