जापानको ओसाकामा “प्रथम नेपाल फेस्टिभल कान्साई २०२५” हुने भएको छ । गैर आवासीय नेपाली सङ्घ एनआरएन कान्साईको आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक सङ्घ संस्थाको सह आयोजनामा बृहत् रूपमा फेस्टिभल यही अप्रिल २६ र २७ तारिख दुई दिन ओसाकाको क्योवासी, फुलाली पार्कमा आयोजना गर्न लागिएको हो ।
बिहीबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै एनआरएन कान्साईले फेस्टिभल आयोजना बारे कान्साईमा रहेका नेपाली सङ्घ संस्थाहरू सँग छलफल गरेको हो । फेस्टिभलको हाल सम्म भएको कार्य प्रगति तथा भावी कार्यक्रमका सम्बन्धमा मूल आयोजक कमिटी संयोजक तथा एनआरएन जापानका उपाध्यक्ष कृष्ण गैरेले जानकारी गराएका थिए भने कार्यक्रमको व्यवस्थापकीय पाटो बारे व्यवस्थापन समिति संयोजक नरेन्द्र कुमार बस्नेत दिनेशले जानकारी दिएका थिए ।
मूल आयोजक समिति अन्तर्गत विभिन्न ११ वटा उपसमितिहरू समेत गठन भएका छन् । तुलसीराम खरेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति सहित स्टल व्यवस्थापन समितिको संयोजक महेश कुमार कटवाल, खाद्य गुणस्तर मापन समितिको संयोजक टिकाराम कडेंल, सांस्कृतिक तथा झाँकी व्यवस्थापन समितिको संयोजक टिआर गौडेल, सुरक्षा तथा स्वयम सेवक व्यवस्थापन समितिको संयोजक भीम काउछा, प्रचार प्रसार समितिको संयोजक तेज गुरुङ, मिडिया व्यवस्थापन समितिको संयोजक पुरुषोत्तम लामिछाने, यातायात व्यवस्थापन समितिको संयोजक सुवाष कँडेल, सङ्घ संस्था समन्वय समितिको संयोजक हरि कँडेल, फुल माला ब्याज व्यवस्थापन समितिको संयोजक सपना डल्लकोटी, अतिथि व्यवस्थापन समितिको संयोजक हरिराज ढकाल छन् ।
छलफलमा फेस्टिभल सम्पन्न गर्नका लागि सहभागी वक्ताहरूले सल्लाह तथा सुझाव दिएका थिए ।
एनआरएनए क्षेत्रीय समिति कान्साईको गएको डिसेम्बर ११ र १६ तारीख़का दिन संरक्षक, सल्लाहकार समिति तथा एनआरएनए कान्साई कार्यसमितिको संयुक्त रूपमा बसेको बैठकबाट आगामी अप्रिल २६ र २७ तारिख नेपालको लोक संस्कृति वेशभूषालाई जापानमा परिचित गराउँदै नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यका साथ ऐतिहासिक “प्रथम नेपाल फेस्टिभल कान्साई २०२५” गर्ने निर्णय गरेको थियो ।
फेस्टिभल लाई भब्य र सभ्य रूपमा सफल पार्न एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरे मूल आयोजक समिति संयोजक र एनआरएनए जापान विशेषज्ञ समिति सदस्य नरेन्द्र कुमार बस्नेत दिनेश व्यवस्थापन समितिको संयोजक रहने गरी मूल आयोजक समिति गठन गरी कार्य अगाडी बढाएको एनआरएन कान्साईका संयोजक हरि कँडेलले जानकारी दिए ।