प्रकृतिको अनुपम उपहार: गोसाइँकुण्ड, कसरी पुग्ने ? के ख्याल गर्ने ?


मञ्जुश्री ठाकुर काठमाडौं । ३१ बैशाख २०८०

क्षितिजमा उदाउँदै गरेको सूर्यको सुनौला किरण, छेवैमा गाढा निलो रङको कुण्डमा माथिको हिमालले ऐना हेरेर मुस्कुराएझैं दृष्य, आसपासमा हिउँका सेताम्य रुप, गोसाईंकुण्ड पुग्नेहरूलाई विर्सनै नसकिने पल हो यो ।

गोसाईंकुण्ड पुग्नासाथ जो कोहीको मुखबाट फुत्त निस्कन्छः ‘ओ माई गड !”

समुन्द्री सतहबाट करिब ४ हजार ३ सय ८० मिटरमाथि रसुवामा रहेको गोसाईंकुण्ड काठमाडौंबाट नजिकको गन्तव्य हो । काठमाडौंबाट छोटो दूरीमा रहेको रमाइलो एवम् धार्मिक गन्तव्यका रुपमा विकसित छ गोसाइकुण्ड ।

बाहिर सामाजिक सञ्जाल वा फोटो ग्यालरीतिर नजर डुलाउँदा पनि गोसाइँकुण्डको दृश्यले जो कोहीको मन लोभ्याउँछ । कञ्चन पानीसहित ऐना झैं बनेर बसिरहेको कु्ण्ड, आसपासमा बरफका ढिक्का, पहाडमा सेताम्मे हिउँको लोभ्याउँदो दृश्य देख्ने जो कोहीलाई गोसाईंकुण्ड जाउँ जाउँ लाग्ने हुन्छ ।

कतिपयले त सामाजिक सञ्जालमा देखिने मनै लोभ्याउने ती दृश्यहरूलाई नजिकैबाट नियाल्नका लागि पनि गोसाईंकुण्ड पुग्ने गरेको बताउँछन् । काठमाडौंको कलंकीदेखि सार्वजनिक बसमा रसुवाको धुन्चे पुग्न सकिन्छ । त्यहाँसम्म पुग्नका लागि सामान्यतयाः ८ देखि १० घण्टासम्म लाग्न सक्छ । धुन्चे पुगेर आसपासका होटलहरूमध्ये कुनै एकमा खाना खाएर केहीबेर थकाइ मारेपछि पैदल यात्रा शुरू हुन्छ ।

धुन्चेसम्म बसमा जाने भएकाले पनि धुन्चेबाट माथितिर जान उत्साह थपिँदै जान्छ । अझ, रातको समयमा धुन्चे पुगेर बिहानीपख त्यहाँबाट पैदलयात्रा शुरू गर्न सकियो भने झनै मज्जा आउँछ । धुन्चेबाट देउरालीसम्म रातिमै देउराली पुग्न सकिन्छ । धुन्चेबाट मज्जाले हिड्यो भने ४/५ घण्टामा राति वास बस्नका लागि देउराली पुग्न सकिन्छ ।

आकाशबाट बिहानीको संकेत गर्दै झर्ने शितका थोपाहरूले यात्राका क्रममा जो कोहीलाई ‘रोमान्टिक’ बनाइदिन्छ । करिब दुई घण्टा देउरालीमा बास बसेको र खाना खाएको प्रतिव्यक्ति ५०० देखि ६०० रुपैयाँसम्म लाग्दछ ।

देउरालीबाट विस्तारै उकालो लाग्दै जाँदा जंगलहरूमा राताम्मे लालीगुराँसहरूले स्वागत गरिरहेका हुन्छन् । त्यसमा पनि शान्त वातावरण, सुनसान जंगलमा केवल चराचुरुङ्गी र पशुपन्छीको चिर्बिराहटले मनै आनन्द बनाइदिन्छ । व्यस्त शहरमा सवारीसाधनका बेरङ्गका हर्नहरूलाई भुलाउँदै यात्रा तय गर्न औषधिजस्तै बनिदिन्छन्, पशुपन्छिका यी सुस्केराहरू ।

देउरालीबाट करिब डेढ घण्टा हिँडेपछि खाना, खाजा तथा चियाका पारखीहरूलाई मसलेदार चियाका पसलहरू भेट्टाउन सकिन्छ । प्रायः एक घण्टादेखि दुई घण्टासम्मको दूरीमा खाजा तथा खानाका लागि होटलहरू भेटिन्छन् । यहाँ प्रायः आलु र सिमीको तरकारी खान पाइन्छ ।

देउरालीबाट करिब डेढ घन्टामा धिम्सा पुगिन्छ । देउरालीबाट धिम्सा पुग्न उकालो पर्ने भएकाले केही सकस पर्न सक्छ । यात्राका क्रममा लट्ठी बोकेर हिँड्नुपर्छ । ठाडो उकालोमा लट्ठीकै साहराले यात्रालाई थप सहज बनाउँछ । वसन्त ऋतुको मध्य समयमा देउरालीबाट धिम्सासम्म पर्ने जंगलहरूमा लालीगुराँस ढकमक्कै फूलेका हुन्छन् । अझै वैशाख महिनाको अन्तिमताका त लालीगुराँस झनै रातो बनेको हुन्छ ।

धिम्सा पुगेपछि भने बाटो सहज छ । धिम्साबाट नजिकको ‘स्टे पोइन्ट’ चन्दनबारी हो । चन्दनबारी करिब डेढ घन्टाको पैदलयात्रामा पुग्न सकिन्छ । यात्राका दौरान थकित शरीरलाई चन्दनबारीमै एक रात विश्राम गराउन पनि सकिन्छ ।

निकै आकर्षक र रमणीय देखिने चन्दनबारी पर्यटनका लागि अर्को सम्भावनाको क्षेत्र हो । उसो त, गोसाइकुण्ड जानेहरूकै लागि पनि ‘स्टे पोइन्ट’का रुपमा विकसित भएको छ चन्दनबारी ।

चन्दनबारीमा रहेका आकर्षक होटलहरूमा त्यहीँका स्थानीय चौँरीको चिज तथा छुर्पीको स्वाद चाख्न पाइन्छ । यहाँ याक चीज फ्याक्ट्री पनि छ । यतिमात्र नभएर चन्दनबारीमा चिसो ठाउँमा जानका लागि आवश्यक तातो कपडा पनि उपलब्ध हुन्छन् । स्थानीय भेडा तथा चौरीका उनबाट बनाइएका ती कपडाहरू निकै आकर्षक हुन्छन् । यसले ‘टिपिकल’ कपडा लगाउन रुचाउनेहरूका लागि थप मज्जा दिलाउँछ ।

यतिमात्रै नभएर स्थानीय कपडाहरूको प्रवद्र्धनमा समेत सहयोग पुग्छ । त्यहाँका होटलहरू धेरै महँगा पनि छैनन् । करिब ५ सयदेखि ७ सय रुपैयाँमा खान तथा बस्ने सुविधा पाइन्छ । चन्दनबारीमा रहेका बिहारहरूको दृश्य सुन्दर छ ।

गोसाईँकुण्ड धार्मिक पर्यटनले भरिपूर्ण क्षेत्र हो । धार्मिक पर्यटन भएका कारण चन्दनबारीबाट माथि जाँदै गर्दा मासूजन्य खानेकुराहरू धेरै पाइँदैनन् । तर, चन्दनबारीमा भने रमाइलोका लागि जानेहरूलाई मासुजन्य परिकारका साथै लोकल रक्सीको स्वाद समेत चाख्ने सुविधा पाइन्छ ।

चन्दनबारी आसपासमा गुलाबी रङको लालीगुराँसले मनै लोभ्याउँछ । तापक्रम परिवर्तन हुँदै जाँदा त्यहाँ लालीगुराँसको रङ पनि फरक फरक पाइन्छन् । चन्दनबारीबाट जति माथि गयो त्यति सेता लालीगुराँस देख्न सकिन्छ । सेता गुराँस र सेताम्य हिमाल थकान भुलाउँदै यात्राका सारथी बन्छन् ।

यो रुट कन्टेन क्रियटरहरूका लागि पनि निकै राम्रो ठाउँ हो । सारी लगाएर हिउँमा टिकटक बनाउँदा कन्टेन भाइरल बनिदिन्छ । त्यहाँ यात्राका क्रमममा पनि कतिपयले विभिन्न भिडियोहरू बनाइरहेको देख्न सकिन्छ ।

घाम लागेपनि जंगलको बाटो जानुपर्ने भएकाले रुखहरूले छहारी दिन्छन् । विभिन्न हिमश्रृंखलाको दृश्यावलोकन गर्दै चन्दनबारीबाट माथितिर लाग्न सकिन्छ । केही समय चन्दनबारीबाट हिँडेपछि अर्को स्टे पोइन्ट आइपुग्छ, चोलाङपाटी । यहाँबाट विभिन्न हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । लाङटाङ, गणेश हिमाल, मनास्लु लगायतको रेन्ज सुन्दर देखिन्छ, चोलाङपाटीबाट ।

त्यसपछि लौरी बिनाको उकालो सुरू हुन्छ । लौरी बिना पाइलै अगाडि नबढ्ने भएकाले यो ठाउँको नाम नै लौरी बिनाको उकालो रहन गएको हो । लौरी बिनाको उकालो साँच्चै उकालो छ ।

गोसाइकुण्डसम्मको बाटो लौरीबिना जानै सकिँदैन । यात्रुहरूको सहजताका लागि सिँढीहरू बनाइएको छ र समात्नका लागि रेलिङ राखिएको छ । यो उकालो कटेपछि मात्रै गोसाईँकुण्ड पुग्न सकिन्छ । लौरी बिनामा राति बास बसेर भोलिपल्ट गोसाइँकुण्ड जान पनि सकिन्छ ।

यात्राका क्रममा खानका लागि अचार वा अन्य केही साथमा लिएर गएमा त्यो उकालोमा खाँदै हिँड्न सकिन्छ । त्यसो गर्दा थकान भुलिन्छ भने उर्जा पनि शरीरमा थपिन्छ ।

लौरीबिनाबाट केही माथि बुद्ध पार्क र बुद्धको मन्दिर पुग्न सकिन्छ । ठाडो उकालो भएकाले पार्कतर्फ अगाडि बढ्दै गर्दा लेक लाग्ने सम्भावना बढी हुन्छ । बुद्ध पार्कमा गएर थकाइ मार्न सकिन्छ ।

शाक्यमुनी मन्दिर रहेको सो बुद्ध पार्कबाट भने केही तेर्सो बाटो आउँछ । यात्राका क्रममा निकै खरतरनाक बाटो पनि भेटिन्छ । पहाड खनेर बनाइएको साघुँरो बाटो, तल छङ्गाछुर भिर । निकै सकसका साथ सो बाटो कट्छ । तर यात्रुको सहजताका लागि सो बाटोमा अहिले रेलिङ राखिएको छ ।

बुद्ध पार्कबाट केही पर हिँडेपछि त्यहाँबाट भैरवकुण्ड देख्न सकिन्छ । गोसाइँकुण्डको त्रिशुलसम्म बुद्धपार्कबाट केही अगाडि बढेपछि देख्न सकिन्छ । ती दृश्यहरू हेर्दा लाग्छ, अब त गोसाइँकुण्ड आयो । त्यो दृश्यले त्यहाँ पुग्ने जो कोहीलाई तान्छ । थकान भुल्दै करिब एक घण्टामा गोसाइँकुण्ड पुग्न सकिन्छ ।

गोसाइँकुण्ड । माथि तस्वीरमा देखिएझैं, अटल, निश्चल, हाँसिरहेका हिमाल । यी दृश्यले साँच्चीकै जो कोहीलाई भावुक बनाउँछ । त्यहाँ पुग्ने बित्तिकै जो कोहीलाई विर्सनै नसकिने गरि मनमा बसिदिन्छ, ती दृश्य ।

गोसाइँकुण्डमा चिसो छ । हावा बेस्सरी चल्ने हुनाले केही गाह्रो पनि हुन सक्छ । कतिपय पुग्दापुग्दै अँध्यारो हुने भएकाले गोसाइँकुण्डबाट दृश्य नियाल्न नयाँ बिहानीको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

गोसाइँकुण्डमा होटलमा बस्दा डिनर र ब्रेकफास्ट सहित प्रतिव्यक्त १ हजार ५ सयदेखि १ हजार ६ सयसम्म पर्छ । समयअनुसार यस मूल्यमा केही परिवर्तन आउन सक्छ । बिहान उठ्ने बित्तिकै गोसाइँकुण्डको दृश्य हेर्दा लाग्छ, यो त विर्सनै सकिँदैन ।

होटलबाट निस्कने बित्तिकै कुण्ड देखिन्छ । गाढा निलो कुण्डको माथि सेता हिमाल, पारी क्षितिजबाट झुल्कँदै गरेका घामका न्यानो किरण, हिमालको छायाँ कुण्डमा ऐना हेरेझैंको दृश्य । साँच्चै, त्यहाँ देखिने यो दृश्य कसैगरि पनि बिर्सनै सकिँदैन ।

गोसाइँकुण्डमा केही समय बिताउँदै गर्दा अघिल्ला दिन पैदय यात्रा गर्दाका थकान सबै भुलिन्छ, निमेशभरमै ।

आसपासका पहाड/पहरामा देखिने हिउँका सेताम्य रुप, हाँसिरहेका विभिन्न हिमश्रृंखलाको अंगालोमा परेको त्यो पल, साँच्चै कुनै शिशुलाई लामो समयपछि आफ्नो आमा भेट्दाको खुशीभन्दा फरक लाग्दैन ।

त्यहाँ पुगेपछि लाग्छ, जीवनमा एक पटक भने पनि पुग्नै पर्ने ठाउँ हो, गोसाइँकुण्ड ।

गोसाइँकुण्डबाट केही माथि भगवान शिवले त्रिशुल गाडेको ठाउँ छ । त्यहाँको जल मानिसहरूले घरघरमा लैजाने गरेका छन् । सो जल छर्किँदा घर तथा मन्दिर पवित्र हुने धार्मिक विश्वास छ ।

गोसाइँकुण्डबाट करिब एक घण्टामाथि सूर्यकुण्ड छ । थप दुई दिन समय छुट्याएर फुर्सदले सूर्यकुण्डसम्म पुगेर आउन पनि सकिन्छ । अझै भन्ने हो भने, गोसाइँकुण्ड आसपास कुण्ड नै कुण्ड रहेछ । सरस्वती कुण्ड, भैरवकुण्ड, गोसाइँकुण्ड अनि सूर्यकुण्ड ।

यी कुण्डको पानीले नुहाएर सारा दुःख कष्ट एवम् पाप नष्ट हुने धार्मिक मान्यता समेत रहेको छ । गोसाइँकुण्ड जानका लागि ४ देखि ६ दिनसम्मको तालिका बनाउँन सकिन्छ । काठमाडौंबाट धुन्चे करिब ९८ किलोमिटरमा पर्छ । त्यहाँबाट पैदल यात्राका लागि एक दिन समय छुट्याउने र बाँकी दिन घुम्ने गरि जाँदा उत्तम हुन्छ ।

सो ठाउँमा घुम्नका लागि प्रतिव्यक्ति १० हजार देखि १२ हजार रुपैयाँमा खर्च लाग्छ । यसबाहेक आफ्नो आवश्यकता र क्षमता अनुसार खर्च गर्न पनि सकिन्छ ।

पर्यटकीय एवम् धार्मिक महत्व रहेको गोसाइँकुण्डमा जेष्ठ शुक्ल प्रतिपदादेखि गोसाइँकुण्ड स्नान सुरू हुन्छ । २०८० सालमा यो तिथि जेठ ६ गते परेको छ । गोसाइँकुण्डमा जनै पूर्णिमामा पनि विशेष मेला लाग्ने गर्छ ।

कोसेलीः
चन्दनबारीमा रहेको स्थानीय चौंरीको दूधको चीज, छुर्पी कोसेलीको रुपमा ल्याउन सकिन्छ । साथै स्थानीय उनबाट बनाइएका उनीका कपडा पनि कोसेलीको रुपमा ल्याउन सकिन्छ ।

के ख्याल गर्ने ?
हिमालको काखमा रहेको गोसाइँकुण्ड काठमाडौं वा अन्य कुनै सहरभन्दा चिसो छ । त्यसकारण चिसो ठाउँमा यात्रा तय गर्दा त्यसै अनुरुपको कपडा साथमा लैजानु आवश्यक हुन्छ । साथै हिँड्नका लागि सहज हुने हलुका बूट पनि साथमा लैजानु उचित हुन्छ ।

यसबाहेक यात्रुले टेक्ने लठ्ठी दुई वटा भयो भने फर्कने समयमा उकालोबाट झर्न सहज हुन्छ । यस्तै, प्राथमिक उपचारका सामान राख्नुपर्छ । नट्स्, नुनिलो भन्दा पनि गुलियो चिज राख्दा उचित हुन्छ । लसुन, लसुनको अचारले अल्टिच्युड सिकनेसलाई कम गर्छ ।

यात्राका क्रममा धेरै गह्रौ सामान नबोकेकै उचित हुन्छ । कपडा पनि दुई सेटभन्दा बढी नलैजाँदा ठीक । गोसाइँकुण्ड जाँदा र त्यहाँबाट फर्कँदा राष्ट्रिय निकुञ्जको चेकजाँच हुन्छ । ब्यागसमेत चेक हुने भएकाले गैरकानूनी तथा अवैध कार्य गर्नुहुँदैन ।

तस्वीरहरू: सोनाम श्रेष्ठ/भावना भुसाल/मञ्जुश्री ठाकुर

३१ बैशाख २०८०