स्काइ वाक परिसरमा अब सलुनको सुविधा पनि, पारसले गरे उद्घाटन

म्यानपावरमा फसेको पैसा उठाउन काठमाडौँ बसेका बेला सुरु गरेको पेसा अहिले चेन व्यवसायमा


टुरिजम पाना काठमाडौँ । १५ माघ २०८१

साढे दुई दशकअघि ठमेलबाट सुरु भएको लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोले कमलादीमा पाँचौँ आउटलेट सञ्चालनमा ल्याएको छ । स्काइवाक टावर परिसरमा सञ्चालनमा आएको यो स्टुडियोको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले उद्घाटन गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू र अधिकांश सेलिब्रेटीको रोजाइमा रहेको सलुनको उद्घाटन गर्दै खड्काले सलुनले गुणस्तरीय सेवालाई निरन्तरता दिनेमा विश्वास व्यक्त गरे ।

करिब ‍‍‍‍‍‍‍५० लाख लागतमा सञ्चालनमा ल्याइएको सलुनले हेयर, नेल, मेकअप, विभिन्न प्रकारका फेसियललगायत महिला र पुरुषका लागि सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा दिने लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोका संस्थापक लक्ष्मी ठाकुरले जानकारी दिए ।

हाल काठमाडौँ उपत्यकामा महाराजगन्ज, पुलचोक र कलङ्कीको भाटभटेनी र कमलादीस्थित स्काइवाकमा रहेको सलुनको आउटलेट अब राजधानी बाहिर पनि खोल्ने योजना रहेको लक्ष्मीले बताए । ठमेलबाट सुरु गरेको पहिलो आउटलेट भने अहिले सञ्चालनमा छैन । ग्राहकहरूको मागअनुसार आउटलेट थप गरेको उनको भनाइ छ । सलुनअन्तर्गत नै हेयर, ब्युटी तथा मेकअप र नेल स्पाको तालिम समेत सञ्चालन गरिरहेको लक्ष्मीले बताए ।

एसएलसीपछि पढाइसँगै काम गर्ने सिलसिलामा जनकपुरबाट मुम्बई पुगेका लक्ष्मीले सलुनको काम उतै सिकेका थिए । लक्ष्मीले विदेश जाने चक्करमा म्यानपावरमा फसेको पैसा उठाउन काठमाडौँ बसेका बेला सुरु गरेको यो पेसा व्यवसाय हुँदै अहिले साढे दुई दशकमा विभिन्न आउटलेट र सौन्दर्य प्रसाधन उत्पादनसम्म पुगेको छ ।

सलुनकै व्यवस्थापकले व्यापार बिस्तार गरी उत्पादनमा समेत जोडिएको यो पहिलो उदाहरण भएको लक्ष्मीको भनाइ छ । हाल उनको टिममा सेवा र उत्पादन गरी करिब एक सय जना रोजगारीमा जोडिएका छन् ।

हेयर एण्ड ब्युटी दुवैमा पोख्त लक्ष्मीले २०७४ सालमा लक्ष्मी हर्बल कम्पनी स्थापना गरी सौन्दर्य प्रसाधनका सामग्री पनि उत्पादन गर्दै आएका छन् । कम्पनीले पुरुषहरूको कपालमा बिना जेल स्टाइल गर्न मिल्ने स्टाइलिङ पाउडर, फेस सिरम, हेयर सिरम, फेस वास र मेहेन्दी उत्पादन गर्दै आएको छ ।

१५ माघ २०८१