‘पर्वतीय क्षेत्रको दिगो व्यवस्थापन गर्न सामूहिक प्रयास आवश्यक’


टुरिजम पाना काठमाडाैं । १८ मंसिर २०७९
paryatan ministry jeevan ram shrestha

पर्वतीय क्षेत्रको दिगो व्यवस्थापनका लागि सबैको चासो र एकीकृत प्रयास आवश्यक रहेको विज्ञहरुले बताएका छन् ।

काठमाडौंको चन्द्रागिरिमा मङ्सिर १५ देखि १७ गतेसम्म चलेको तीन दिने दिगो अन्तर्राष्ट्रिय पर्वतीय विकास सम्मेलनले हिमालको दिगो व्यवस्थापनका लागि सरोकारवाला सबैको चासो र एकीकृत प्रयास आवश्यक भएको निष्कर्ष निकालेको हो ।

सम्मलेनमा विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमाल र समग्र वातावरणमा पारेको असरबारे गम्भीर चिन्ता र चासो व्यक्त गरिएको थियो ।

सम्मेलनमा सहभागी हिमालय क्षेत्रका विज्ञ तथा वैज्ञानिकले हिमालको दिगो व्यवस्थापन गर्न नसके यसले प्राकृतिक र मानवीय दुवै क्षेत्रमा गम्भीर परिणाम ल्याउन सक्ने भन्दै सरोकारवालालाई गम्भीर बन्न सुझावसमेत दिएका थिए ।

कार्यक्रममा नेपालसहित अमेरिका, बेलायत, जापान, चीन, भियतनाम, चिली, स्पेन र भारतलगायतका देशका विज्ञहरूले प्रत्यक्ष तथा भर्चुअलरूपमा क्षेत्रका विज्ञहरूले प्रस्तुतीकरण दिएका थिए । यस्तै नेपालका पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

नेपाल पर्यटन बोर्डको आयोजना तथा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, होकाइदो युनिभर्सिटी जापान, युनिभर्सिटी अफ कोलोराडो अमेरिका, जिएलपी जापान, डब्ल्युडब्ल्युएफ नेपाल, इसिमोड, युएनडिपीलगायतका संस्थाको प्राविधिक सहयोग तथा समन्वयमा सम्मेलन आयोजना गरिएको थियो ।

सम्मेलनमा उठेका विषयअनुसार आगामी दिनमा हिमालय क्षेत्रको समग्र विकास संरक्षणका लागि नीति तय गर्न सम्मेलनले केही मार्गदर्शन गरेको बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिए । कार्यक्रममा विभिन्न विषयमा ६६ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

१८ मंसिर २०७९