पर्वतारोहण संघले मनायो ४९ औं वार्षिक उत्सव

पर्यटन गतिविधि बढाउन सामूहिक रूपमा लाग्नु पर्नेमा जोड


टुरिजम पाना काठमाडौं । १६ कार्तिक २०७९
nepal parbatharohan sangha

अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघका मानार्थ सदस्य तथा एनएमएका प्रमुख सल्लाहकार आङछिरिङ शेर्पाले हिमाली क्षेत्रको पर्यटन गतिविधि बढाउन सबैजना सामूहिक रूपमा लाग्नु पर्ने बताएका छन् ।

नेपाल पर्वतारोहण संघ (एनएमए) को ४९ औं वार्षिक उत्सवका अवसरमा मंगलबार भएको कार्यक्रममा बोल्दै शेर्पाले कोभिड महामारीले सुस्ताएको पर्वतारोहण, पदयात्रालगायतका पर्यटनको पुनरूत्थान गर्न सबैले कसरत गर्नुपर्ने बताएका हुन् ।

‘हिमाली पर्यटनलाई कोभिड-१९, डेङ्गुलगायतका प्राकृतिक प्रकोपले निरन्तर आक्रमण गरिरहेको छ । नेपालको हिमाली पर्यटनलाई पुनरुत्थान गर्ने ठूलो चुनौती छ’, एनएमएका पूर्वअध्यक्षसमेत रहेका शेर्पाले भने, ‘यसको पुनरुत्थान र प्रवद्र्धनका लागि सबै पर्यटन व्यवसायीलाई सामूहिक रूपमा काम गर्न आग्रह गर्न चाहन्छौं ।’

साथै उनले एनएमए स्थापनामा भूमिका खेलेका व्यक्तिहरू पनि कृतज्ञता व्यक्त गरे । ‘सुरुमा नेपाली पर्यटन क्षेत्र भारतको दार्जिलिङबाट नियमन हुन्थ्यो । यी संस्थापक सदस्यहरूले पछि एनएमए स्थापना गरे र नेपाली पर्यटन प्रवद्र्धनका लागि काम गर्न थाले,’ शेर्पाले भने, ‘त्यतिबेला पहल नगरेको भए नेपाली पर्यटन आजको अवस्थामा हुने थिएन । हामी र नेपाली हिमाली पर्यटनका लागि यो सबै गरेकोमा म सबैलाई धन्यवाद दिन चाहन्छु ।’

कार्यक्रममा एनएमए परिसरमा एनएमएको झन्डा फहराइएको थियो र केक काटिएको थियो । मंगलबार एनएमए सचिवालय नागपोखरी नक्सालमा आयोजित औपचारिक कार्यक्रममा विभिन्न पर्यटनसम्बन्धी संघसंस्थाका प्रतिनिधिहरु उपस्थित भएका थिए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष नीलहरि बाँस्तोलाले आगामी वर्षको स्वर्ण जयन्ती हिमाली क्षेत्रको पर्यटनलाई पुनरुत्थान गर्ने कार्यक्रमसहित मनाउन सुझाव दिए ।

‘मलाई आशा छ तपाईंले एनएमए स्वर्ण जयन्तीका लागि योजना र कार्यक्रम तयार गरिसक्नुभएको छ । तर, हिमाली पर्यटनको प्रवर्धन गर्न सहयोग पुग्ने खालका कार्यक्रमहरू तयार गर्न सुझाव दिन चाहन्छु,’ सबै पर्यटन छाता संस्थाका तर्फबाट शुभकामना व्यक्त गर्दै अध्यक्ष बाँस्तोलाले भने, ‘पर्यटन क्षेत्रको विकास हुने जुनसुकै प्रस्तावलाई सहयोग गर्न टान तयार छ ।’

कार्यक्रममा शुभकामना दिँदै पर्यटन विभागअन्तर्गतको पर्वतारोहण विभागका निर्देशक युवराज खतिवडा र पर्यटन प्रहरी नायब उपरीक्षक सुगण्डा श्रेष्ठले पनि हिमाली पर्यटनको पुनरुत्थानका लागि एनएमएसँग सहकार्य गर्ने इच्छा व्यक्त गरे ।

पर्वतारोहण संघको स्थापना

पर्यटन विज्ञ एवं व्यवसायी डाक्टर हर्क गुरुङसहित कुमार खड्गविक्रम शाह, छिरिङ तेन्जिङ लामा, नित्यामान सिंह प्रधान, टेकचन्द्र पोखरेल र शम्भु तामाङले पर्वतीय पर्यटन प्रवर्धन, हिमाली वातावरण र हिमाली जनताको साँस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले सन् १९९३ को नोभेम्बर १ मा पर्वतारोहण संघको स्थापना गरेका थिए । त्यही समयदेखि नोभेम्बर १ मा एनएमएले जन्मोत्सव मनाउँदै आएको छ ।

एनएमएले स्थापनाकाल देखि नै हिमाली पर्यटन प्रवर्धन, हिमाली वातावरण र नेपालका हिमाली जनताको साँस्कृतिक सम्पदाको संरक्षणका लागि सक्रियतापूर्वक काम गर्दै आएको छ । एनएमएले नेपाल सरकारलाई पर्वतारोहण र उद्धारका लागि प्राविधिक शाखाको रुपमा पनि सहयोग गर्दै आएको छ । नेपाल सरकारको अख्तियारीमा एनएमएले २७ वटा चुचुराहरुको व्यवस्थापन पनि गर्दै आएको छ ।

१६ कार्तिक २०७९