पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी


टुरिजम पाना ललितपुर । ३ पुष २०७९
photo exhibition lalitpur mahanagarpalika

पाटन दरबार क्षेत्रमा आजदेखि फोटो प्रदर्शनी सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०४औं वर्ष प्रवेशका अवसरमा फोटो प्रदर्शनी आयोजना गरिएको हो ।

फोटो प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख चिरिबाबु महर्जनले प्रदर्शनीमा राखिएका तस्बिरले महानगरको हिजो र आजको अवस्थाका बारेमा बोलेको बताए ।

‘ट्राफिक प्रहरीमा नाम कमाएर रिटायर्ड भएको व्यक्तिलाई हामीले ललितपुर महानगरपालिकामा ल्याउने निर्णय गर्यौं । त्यो निर्णय अहिले ज्यादै लाभदायक हुन पुगेको छ, यहाँ प्रदर्शनीमा राखिएका तस्बिरले सीताराम नगरप्रहरी हुनुअघि र पछिको अवस्था चित्रित गरेको छ’, उनले भने, ‘नगर प्रहरीको टिमलाई म विशेष धन्यवाद दिन्छु, उहाँहरु सहरलाई सुन्दर र व्यवस्थति बनाउन थप मिहिनेत गर्दै अघि बढ्नु हुनेछ ।’

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर महानगरलाई समृद्ध बनाउन नगर प्रहरीको भूमिका महत्वपूर्ण भएको बताए । ‘ललितपुर महानगर र नगर प्रहरीले गरेका कामले समृद्ध महानगर बनाउने अभियानलाई अझ बल मिलेको छ’, उनले भने, ‘हामीले बोल्नै नपर्ने गरी फोटोले सबै कामको प्रतिनिधित्व गरेको छ ।’

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, २९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यको उपस्थिति थियो । नगर प्रहरीको संयोजनमा फोटो प्रदर्शनी आयोजना गरिएको हो ।

पाटन दरबार परिसरमा शनिबारसम्म चल्ने फोटो प्रदर्शनीमा महानगरभित्र नगरप्रहरीले गरेका कामलाई समेटेर कैद गरिएका तस्बिर राखिएका छन् ।

३ पुष २०७९