सिन्धु पर्यटन व्यवसायी संघमा नयाँ कार्यसमिति, अध्यक्षमा दोहोरिए श्रेष्ठ


टुरिजम पाना काठमाडौं । ३ पुष २०७९

सिन्धु पर्यटन व्यवसायी संघको अध्यक्षमा नारायण श्रेष्ठ दोहोरिएका छन् । शनिवार सम्पन्न संघको साधारण सभाले श्रेष्ठको नेतृत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा अञ्जनकुमार खड्का, सचिवमा गोविन्द लोहनी, कोषाध्यक्षमा राजन श्रेष्ठ, सदस्यहरूमा महेन्द्र श्रेष्ठ, ललित गिरी र सुजन बस्नेत रहेका छन् ।

सुकुटे भ्याली रिसोर्टका सञ्चालक समेत रहेका संघका अध्यक्ष श्रेष्ठले आफ्नो नेतृत्वमा सिन्धुपाल्चोकमा भएका अन्य पर्यटकीय गन्तव्यलाई विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले टुरिजमपानासँग भने,‘सुकुटे पर्यटकीय गन्तव्यको रुपमा विकास गरिसकेका छौँ । अब जुगल हिमाल, तातोपानी, भैरव कुण्ड, खरीढुंगा लगायतलाई प्रवर्द्धन गर्दैछौँ ।’

उनले संघको पहिलो बैठकले फागुन पहिलो साता चार दिने सुकुटे महोत्सव आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए ।

 

३ पुष २०७९