१ अर्ब १६ करोड लगानीमा नगरकोटमा बन्यो ‘तायो इको रिसोर्ट’


उपासना शर्मा काठमाडौं । १५ पुष २०७९

नगरकोटको पहिलो अन्तर्राष्ट्रिय चेन रिसोर्ट ‘तायो इको रिसोर्ट’ अंग्रेजी नयाँ वर्षमा सञ्चालनमा आउने भएको छ । जनवरी १ देखि रिसोर्ट सञ्चालनमा आउन लागेको हो । नेपाल वायुसेवा निगमका पूर्व प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारका छोरा सुमीररत्न कंसाकार संचालक रहेको यो रिसोर्ट नयाँ वर्षको अवसरमा सफ्ट ओपनिङ गर्न लागिएको हो ।

१ अर्ब १६ करोड ६० लाख रुपैयाँ लगानीमा रिसोर्ट तयार पारिएको सुगतरत्न कंसाकारले टुरिजम पानालाई जानकारी दिए । उनका अनुसार, रिसोर्टमा अन्तर्राष्ट्रिय चेन भित्र्याउनका लागि छलफल भइरहेको छ । ‘अबको तीन महिनाभित्रै ग्राण्ड ओपनिङ गर्ने योजनामा छौं’, कंसाकारले टुरिजम पानासँग भने ।

कुल ४२ कोठा क्षमताको रिसोर्टमा दुईवटा सुइट रुम, एउटा रेष्टुरेण्ट ‘दुलुचा’, एउटा बार ‘पुलुकिँसी’, स्वीमिङ पुल, ९० जना क्षमताको मिटिङ हल, ३० वटा गाडी अट्ने पार्किङ लगायतका सुविधा रहेको छ ।

अहिले रिसोर्टको ४० वटा कोठा तयारी अवस्थामा रहेको छ । यस्तै मिटिङ हल, स्पा र दुईवटा सुइट रुम तयारीको काम भइरहेको उनले जानकारी दिए। रिसोर्टले पाँचतारे स्तरको रेटिङका लागि पर्यटन विभागमा आवेदन दिएको उनको भनाइ छ ।

रिसोर्टमा कुल १० वटा कटेज छ । जसमा प्रति रात बीबी प्लानसहित १५ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको सुगतरत्न बताउँछन् । पर्यावरणमैत्री सेवालाई मध्यनजर गर्दै रिसोर्टले सौर्य ऊर्जा जोडेको उनले जानकारी दिए । कुल ३० रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्टको नामकरण नेवारी संस्कृति केन्द्रित रहेको बताइएको छ । देवी कुमारीले घाँटीमा लगाउँदै आएको हार अर्थात ‘तायो’ को अवधारणामा नामकरण गरिएको हो,’ सुगतरत्नले भने ।

उनका अनुसार रिसोर्टको नाम मात्र नभइ यहाँ दिइएको कक्षको नामसमेत नेवारी संस्कृतिसँग जोडिएको छ । खानपिनका लागि प्रयोग हुने सागसब्जी आफ्नै परिसरमा उत्पादन गर्न सुरू गरिएको सुगतरत्न बताउँछन् । रिसोर्टबाट हिमशृंखलासँगै साँखु, काठमाडौं, थानकोटको दृश्यावलोकन गर्न सकिने छ ।

सुगतरत्नका अनुसार, रिसोर्टमा परम्परा र प्रविधिको मिश्रणमा आधुनिक सेवा सुविधासहित नेवारी आर्किटेक्चर प्रयोग गरिएको छ । जग्गासहित सवा एक अर्ब रुपैयाँ लगानी रहेको रिसोर्ट तयारीका लागि नेपाल इन्भेष्टमेन्ट बैंकसँग ऋण लिएको उनले बताए। उनले भने, ‘जग्गा २५ वर्ष अघि किनेका थियौं, सोही जग्गामा रिसोर्ट बनाएका हौं ।’

१५ पुष २०७९