पर्यटन विकास र पहिचानको लागि सम्पदाको संरक्षण आवश्यक रहेको सरोकारवालाको जोड


टुरिजम पाना संवाददाता काठमाडौं । १२ जेष्ठ २०८०

नेपालको पर्यटन विकास र पहिचानको लागि सम्पदाको संरक्षण आवश्यक रहेको सरोकारवालाको जोड दिएका छन् ।

उनीहरुले सम्पदाको संरक्षण र पुनःनिर्माणलाई अन्य क्षेत्रको विकास र संरक्षण भन्दा फरक ढंगले हेर्नु पर्ने बताएका छन् ।

नेपाल सम्पदा संघले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनीहरुले नेपाल सम्पदाहरुको देश र काठमाडौं उपत्यका सम्पदा नै सम्पदाले भरिएको स्थान भएकोले यसको पहिचान जोगाउन सबैले उचित ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु मर्हजनले उपत्यकामा रहेका मूर्त, अमूर्त तथा प्राकृतिक सम्पदाहरुको संरक्षण आवश्यक भएको बताए ।

पछिल्लो समय सम्पदाहरु बिग्रिदै गएकोमा चिन्ता व्यक्त गर्दै मेयर मर्हजनले देशको पहिचान र समृद्धिका लागि सम्पदा संरक्षणमा सबै लाग्नु पर्ने बताए । ‘सम्पदाको विषय अन्य विकासको अवधारणा भन्दा फरक विषय हो । यसको लागि संघीय, प्रादेशिक र स्थानीय तीनै तहको सरकारले सोही अनुरुप सोच्न आवश्यक छ । यदी त्यसो गरिएन भने सम्पदा नाश हुने सम्भावना रहन्छ । ’ उनले भने ।

यस्तै नेपाल सम्पदा संघका अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले सम्पदा संरक्षणको लागि सबैको सामुहिक पहल र प्रतिवद्दता आवश्यक रहेको बताए । सम्पदाहरु मावन समाजको साझा सम्पत्ती भएको उल्लेख गर्दै उहाँले पूर्खाले छोडेर गएका सम्पदारुपी नासोलाई संरक्षण गरि भावी सन्ततीलाई हस्तान्तरण गर्नु पर्ने बताए ।

‘नेपालको आर्थिक विकासको लागि पर्यटनको विकास आवश्यक छ । पर्यटनको विकासको लागि सम्पदा संरक्षणको झन ठलो महत्व छ । त्यसैले नेपालको पर्यटनको लागि सबैले मिलेर नेपालका सम्पदाको संरक्षणमा लाग्न जरुरी छ, ’ उनले भने ।

यस्तै नेपाल सम्पदा संघका उपाध्यक्ष धर्मराज शाक्यले सम्पदा संघले विश्व सम्पदा दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिँदै सम्पदा संरषणको लागि जनचेतना आवश्यक भएको बताए ।

कार्यक्रमका अवसरमा सम्पदा संरक्षणको लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको संघका महासचिव प्रकाश दर्नालले जानकारी दिए ।

संघले विश्व सम्पदा दिवस २०२३ का अवसरमा २०२३ को अप्रिल १८ तारिखमा विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा काठमाडौंमा विविध कार्यक्रम आयोजना गरेको संघका सदस्य विजय प्रधानले जानकारी दिए ।

१२ जेष्ठ २०८०