तनहुँको बन्दिपुरमा संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि नेवाः नृत्य प्रशिक्षण सुरु गरिएको छ। नयाँ पुस्तालाई आफ्नै परम्परा र संस्कृतिप्रति अभिप्रेरित गर्ने प्रयास स्वरुप नेवाः नृत्य प्रशिक्षण सुरु भएको हो ।
बन्दिपुर पर्यटन विकास समितिको अध्यक्ष किशन प्रधानले भने, पर्यटन प्रवर्द्धनका लागि संस्कृति अपरिहार्य छ। यदि हामीले आफ्नो संस्कृति जोगाउन सक्यौं भने मात्र हाम्रो अस्तित्व पनि जोगिन्छ। सबैले आ–आफ्नो संस्कृति प्रस्तुत गर्न थालौं। संस्कृति रहे हामी रहन्छौं, संस्कृति बचायौं भने हामी पनि बच्नेछौं।
नेवाः नृत्य प्रशिक्षणमा स्थानीय युवायुवतीहरूको सहभागिता देखिएको छ। प्रशिक्षणमा सहभागीहरूले नेवाः समुदायको परम्परागत नृत्य शैली, र संगीतका आधारभूत सीप सिकिरहेका छन्।
संस्कृतिकर्मीहरूका अनुसार यस्ता गतिविधिहरूले बन्दिपुरको मौलिकता जोगाउन मात्रै होइन, पर्यटकहरूलाई पनि नयाँ अनुभव दिनेछन्। साथै, स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
बन्दिपुर पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्दै आएको छ। संस्कृति र पर्यटनको समिश्रणबाट यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।