देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो


टुरिजम पाना संवाददाता काठमाडौं । २२ बैशाख २०८०

२५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।

ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । (रासस)

२२ बैशाख २०८०