जेनजी आन्दोलनको आगोबाट उठ्दै बगैंचा रिसोर्ट एण्ड स्पा, एक महिनाभित्र पाहुना स्वागत गर्ने


टुरिजम पाना संवाददाता पोखरा । २९ जेष्ठ २०८३

जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट तथा आगजनीको शिकार बनेको पोखराको लेकसाइडस्थित बगैंचा रिसोर्ट एण्ड स्पा पुनः सञ्चालनको तयारीमा जुटेको छ। रिसोर्टको पुनर्निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ।

रिसोर्टका निर्देशक सौगात थापाका अनुसार पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ र आगामी एक महिनाभित्र रिसोर्ट पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ।

‘रिसोर्टको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। जुलाईको पहिलो साताभित्र हामी रिसोर्टलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनेछौँ,’ निर्देशक थापाले बताए।

उनका अनुसार आधुनिक सौन्दर्य, परम्परागत आतिथ्य तथा वातावरणमैत्री प्रविधिको समन्वयमार्फत रिसोर्टले पोखराको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्य लिएको छ।

चार रोपनी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ३२ वटा लक्जरी सुइट रहेका छन्। स्ट्यान्डर्ड, एक्जिक्युटिभ, आर्बर सुइट तथा बगैंचा सुइट गरी विभिन्न श्रेणीका आवास सुविधा उपलब्ध छन्।

फिटनेसप्रेमी पाहुनालाई लक्षित गर्दै रिसोर्टमा सुविधा सम्पन्न जिमको व्यवस्था गरिएको छ। साथै, स्पा सेवाअन्तर्गत पारम्परिक नेपाली उपचार, योग, सिङ्गिङ बाउल थेरापी तथा साउन्ड हिलिङजस्ता सेवाहरू उपलब्ध छन्।

रिसोर्ट परिसरमा टारो पुलसाइड बार, मरिच इन्डो–चाइनिज रेस्टुरेन्ट तथा उमामी प्यान–एसियन रेस्टुरेन्ट सञ्चालनमा रहनेछन्, जहाँ नेपाली परम्परागत परिकारदेखि बहुराष्ट्रिय खानासम्मको स्वाद लिन सकिनेछ।

रिसोर्टले प्लास्टिकमुक्त नीति अवलम्बन गरेको छ। साथै, वर्षाको पानी संकलन, काठ, ढुंगा तथा हस्तकलाका सामग्रीको प्रयोगलाई प्राथमिकता दिइएको छ। महिला उद्यमी तथा राउटे समुदायद्वारा उत्पादित सामग्रीको प्रयोगलाई समेत विशेष महत्व दिइएको रिसोर्टले जनाएको छ।

२९ जेष्ठ २०८३