इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल सुदृढ गर्न ३९ नयाँ विमानस्थल निर्माण गर्ने योजना सार्वजनिक गरेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार यातायात मन्त्रालयका नागरिक उड्डयन महानिर्देशक लुकमान एफ. लाइसाले उक्त योजना हवाई सम्पर्क विस्तार, दुर्गम क्षेत्रसम्म पहुँच अभिवृद्धि तथा द्वीपसमूहभर सन्तुलित आर्थिक विकास प्रवद्र्धन गर्ने उद्देश्यले अघि बढाइएको बताएका छन् ।
उनका अनुसार नयाँ विमानस्थल निर्माणपछि इन्डोनेसियाको योजनाबद्ध हवाई सञ्जाल २९६ केन्द्रमा विस्तार हुनेछ । हाल देशभर २५७ विमानस्थल सञ्चालनमा रहेका छन् ।
नयाँ विमानस्थल निर्माण गर्दा सुरक्षा मापदण्ड, आधुनिक प्रविधिको उपयोग तथा जलवायु परिवर्तनबाट उत्पन्न जोखिम सामना गर्न सक्ने पूर्वाधार विकासलाई प्राथमिकता दिइने उनले बताए ।







