हराउदैं विन्ध्यवासिनी मन्दिरको इतिहास


सुनिल उलक कास्की । १९ कार्तिक २०७९

पर्यटकीय नगरी पोखराको विन्ध्यवासिनी मन्दिरको इतिहास निकै पुरानो छ । यो मन्दिर कहिले बनेको भन्ने यकिन मिति तथा कसले बनाएका हुन् भन्ने कुनै दस्तावेज र शिलालेख नभेटिएतापनि यसको निर्माण १८औ शताव्दीमा खड्ग वम मल्लबाट भएको भन्ने अनुमान गरिएको हो ।

पछिल्लो पटक बि.सं. १९२४ बैशाख २५ गते हालको मन्दिरको पूनर्निर्माण सम्पन्न भएको ताम्रपत्रको तस्विर भने राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेको छ । तर ताम्रपत्र भने हराइसकेको देखिन्छ । पहिले मन्दिरको मूलढोकामा नै रहेको ताम्रपत्र कसले कुन बेला कुन नियतवश हटाइयो, भन्ने कुनै स्पष्ट जानकारी भेटिदैन ।

उक्त ताम्रपत्रमा यस प्रकारको लेखोट रहेको छ ।
श्री गणेशायनम श्री श्री श्री माहाराज सुरेन्द्र बिक्रम शाहदेव ।। श्री शाके १७८९ ।। श्री सम्वत १९२४ साल मिती बैशाख सुदि ३ रोज २ ।। ।

विन्ध्यवासिनी मन्दिरमा रहेको ढोकामा यसरी ताम्रपत्रमा राजा सुरेन्द्रले बि.सं. १९२४ बैशाख सुदि ३ रोज २ मा अर्थात १९२४ बैशाख २५ गते कौशी समेत भत्केर जिर्ण भएको मन्दिरको जिर्णोद्वार गरेको उल्लेख गरिएको छ । मन्दिर जिर्णोद्वार गरेको समयमा नै पोखरी पनि बनाइ नारायणलाई अर्पण गरेका थिए भनेर लेखिएको छ । साथै घरवारी लगायतको तिरोभरो भराइ मन्दिर ब्यबस्थापनको समेत ब्यबस्था गरिएको भन्ने देखिन्छ ।

Bindhyabasini Mandir histrionicखड्गवम मल्लले बनाएको मन्दिर ध्वस्त भइसकेकोले नै १९२४ मा राजा सुरेन्द्रले बनाइ दिएको भन्ने बुझिन्छ । बि.सं. १८७२ मा राजा गिर्वाणको समयमा पुजारी हरिवंश पाध्यालाई हटाइ महिन्द्र पाध्या पौडेललाई पुजारी बनाइएको थियो । बि.सं. १८६३ मा रानी सुवर्णप्रभा (गिर्वाणका ठूली आमा) पाल्पाबाट मुक्तिनाथ दर्शन गर्न गएका थिए । यस भ्रमणको खर्च बापत रू १७०० त्यसबेलाका पोखराका नेवार ब्यापारी जिताराम नेवारले दिएका थिए । यिनै जितारामले नै पोखराको भिमसेन मन्दिर पनि बनाईदिएका थिए ।

पुराना कागजपत्र, ताम्रपत्र तथा शिलालेखहरू हराउदै जाँदा इतिहास पनि हराउदै जाने गरेको छ । केही कागजपत्र नियतवश लुकाइ जलाइएको भन्ने पनि देखिन्छ भने केही महत्वपूर्ण कागजपत्र २००६ सालको आगलागीमा जलेर नष्ट भएको भन्ने पनि देखिन्छ ।

यस मन्दिरलाई पोखरा सहरमा रहेको सबैभन्दा पुरानो मन्दिर समेत भनिन्छ । मन्दिरले नियमित रूपमा ठूलो सङ्ख्यामा स्थानीयवासी, देशभरका नेपाली र विदेशीहरूलाई समेत आकर्षित गर्दै आएको छ । यो मन्दिरको मूल देवी विन्ध्यवासिनी हुन् ।

१९ कार्तिक २०७९