जब अक्सिजन नपुगेर ‘बाँच्दिन होला’ भन्ने लाग्यो !


पुर्णिामा श्रेष्ठ काठमाडाैं । १९ कार्तिक २०७९
purnima shrestha

समिट पुग्नुभन्दा अघिल्लो रात, पर्वतारोहीका लागि सबभन्दा चुनौतीपूर्ण समय मानिन्छ । त्यतिञ्जेल उनीहरूका ऊर्जा, खाद्यान्न, अक्सिजन सबै सकिने अवस्थामा हुन्छन् । भोलि समिटमा मौसम कस्तो होला ? त्यहाँसम्म आउजाउ गर्ने अक्सिजन पुग्छ/पुग्दैन?’ निकै छटपटी हुन्छ ।

त्यो रात त्यस्तै छटपटीबीच निदाएँ । लामो यात्रा गरेर समिटको नजिकै पुगेर फर्किनुजस्तो नरमाइलो अरू केही हुँदैन । कञ्चनजङ्घाको ट्रेकमा अक्सिजन अभाव भयो । यो त सबभन्दा लामो ट्रेक ।

१८ घण्टामा पुग्छु भन्ने अनुमान थियो । तर २२ घण्टामा बल्लतल्ल पुगियो । हिमालको चुचुरोमा पुगिसकेपछि अक्सिजन नपुगेर ‘बाँच्दिन होला’ भन्ने लाग्यो ।

बाँच्ने आस नभएपछि परिवार र साथीभाइलाई आफ्नो अवस्था र अन्तिम सन्देश सुनाउन सामाजिक सञ्जालमा भिडिओ बनाएर पोस्ट गरेँ । केही बोल्न नसकेर भिडियोमा रोएछु । भाग्य बलियो रहेछ, सकुशल बेसक्याम्प फर्केँ ।
०००
म पेसाले फोटो पत्रकार । करिब १० वर्ष अगाडिदेखि फोटो पत्रकारिता गरिरहेको छु । ५ वर्षअघि हिमाल आरोहण सुरू गरियो । त्यसयता फोटोग्राफीको काम केही रोकिएको छ । फोटो पत्रकार भनेरै ट्राभल गरेर, हिमाल, पहाड चहार्नेु, आफ्नो फोटोमार्फत् अरूलाई प्रकृतिको सुन्दर दृष्यहरू देखाउने हो ।

Purnima shrestha

फोटो पत्रकारिता गरिरहँदा धेरै ट्राभल गर्न मन लाग्थ्यो । तर, ट्राभलको समय जुर्दैन थियो । सन् २०१७ मा अफिसकै कामले फोटो खिच्नका लागि एभरेस्ट बेसक्याम्प पुगेँ । त्यहाँ एभरेस्ट म्याराथोनको फोटो खिच्नु थियो । त्यो नै मेरो पहिलो ट्रेक थियो ।

पहिलोपटक त्यहीँ हो मैले हिमाललाई नजिकै देखेको । मलाई त्यतिबेला सरगमाथा त के, कुन हिमालको नाम के हो ? भन्ने पनि थाहा थिएन । पत्रकारितामा रहेर फोटो खिच्न थालेको ५ वर्ष बितिसक्दा पनि यत्ति कुरा थाहा नभएको भनेर आफूलाई प्रश्न गर्न थालिरहेँ ।

कता-कता आफूलाई पिछडिएको अनुभव भयो । त्यतिबेला मैले धेरै पर्वतारोही र सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्ने मौका पाएँ । त्यतिबेला मेरो हातमा क्यामरा देख्ने कतिले मलाई विदेशीसम्म भन्न भ्याए । त्यतिबेलै मलाई हिमाल आरोहण गर्नुपर्छ भन्ने सोच आएको हो ।

हिमाल आरोहण गरेर त्यहाँको राम्रो दृष्यलाई कैद गर्ने हुटहुटीकै कारण सबै काम छोडेर म पर्वतारोहणको बाटो लागेँ । उक्त बेसक्याम्पबाट फर्केपछि मैले साथीभाइलाई २०१८ मा सगरमाथा चढ्छु भनेँ ।

कतिले पत्याएनन्, तर पनि जसरी हुन्छ हिमाल चढ्छु भन्ने सोचले हिमाल चढ्ने र चढाउने मान्छेहरूसँग भेट्न थालेँ । उनीहरूले सगरमाथा चढ्नुअघि ६ हजारको चुचुरा चढेर अभ्यास गर भन्ने सुझाव दिए ।

धेरैले ‘सक्दैनौ, नजाऊ’ पनि भने । सकिन भने पनि स्वीकार्छु तर कम्तिमा एकपटक प्रयास गर्छु भन्ने नै थियो । मैले निकै दुःखले खर्चको जोहो गरेको थिएँ ।

सोही समयमा एकजना साथीले मनास्लु हिमाल जाने प्रस्ताव राख्यो । गोरखामा जन्मे हुर्केकी म, आफ्नै जिल्लाकै हिमालदेखि किन सुरू नगर्ने त? मनास्लु नै जाने निर्णय गरेँ । मेरो आर्थिक स्थिति त्यति राम्रो थिएन र पनि साथीहरूसँग सरसापट र सहयोग गरेर करिब १० लाख रकम जुटाएर मनास्लु गएँ ।

धेरैले ‘सक्दैनौ, नजाऊ’ पनि भने । सकिन भने पनि स्वीकार्छु तर कम्तिमा एकपटक प्रयास गर्छु भन्ने नै थियो । मैले निकै दुःखले खर्चको जोहो गरेको थिएँ ।

मेरो यात्रा सफल बनाउन धेरै विद्यार्थीले खाजाको पैसा बचाएर समेत सहयोग गरेका छन् । अनि चुचुरो चुम्नु मेरो मात्र होइन, मलाई सहयोग गर्ने हरेकको सपना हो भन्ने लाग्थ्यो । त्यसैले मलाई ठूलो ऊर्जा दियो ।

घरबाट हिँडेको २२ दिनमा समिट पुगेँ । त्यहाँबाट बेसक्याम्प फर्केपछि बेलुका नै साथीहरूलाई ‘मलाई नउठाउनु, थाकेको छु, धित मर्ने गरि सुत्छु’ भनेँ । तर उत्साहले भनौैं वा त्यहाँको वातावरणले, रातभरि निद्रा लागेन ।

मान्छेको सपना पूरा भएको समयमा निन्द्रा नलाग्दो रहेछ । म प्रफुल्ल थिएँ । कहिले घर फर्किऊँ र सबैलाई आफ्नो अनुभव सुनाउँजस्तो भइरहेको थियो ।

म हिमाल आरोहणपछि घर आउँदा आमा जहिल्यै रूनु हुन्छ । म सामान्य परिवारमा हुर्केकी हुँ । मेरो बुवा कृषक । उहाँहरूले मलाई निकै साथ दिनु भएको छ । मैले हिमाल चढ्ने निर्णय गर्दा कहिले पनि रोक्नु भएको छैन ।

मैले हिमाल आरोहणमा कति पीडा भोगेँ, कति रोएँ । तर, त्यो बेला डराएर म नगएको भए अहिले ८ हजार मिटरभन्दा माथिको ७ वटा हिमाल चढ्न सफल हुने थिइन । त्यतिबेला पर्वतारोहणको बारेमा केही थाहा नभएरै होला डर पनि लाग्दैनथ्यो । तर अहिले सबै कुरा थाहा भएपछि डर लाग्छ ।

म हिमाल आरोहणपछि घर आउँदा आमा जहिल्यै रूनु हुन्छ । म सामान्य परिवारमा हुर्केकी हुँ । मेरो बुवा कृषक । उहाँहरूले मलाई निकै साथ दिनु भएको छ । मैले हिमाल चढ्ने निर्णय गर्दा कहिले पनि रोक्नु भएको छैन ।

तर कुनै पनि अभिभावक आफ्नो सन्तानले जोखिमपूर्ण काम गरेको हेर्न चाहँदैनन् । मेरो आमा–बुवाले पनि म हिमाल चढ्न जाँदा मर्नकै लागि गएकोजस्तो अनुभव गर्नुहुन्छ  ।

त्यसैकारण पनि उहाँहरूलाई हिमाल आरोहणको समयमा हुने दुःखको बारेमा केही कुरा गर्दिनँ । म हिमालमा जाँदा र त्यहाँबाट फर्केर घर आउँदा आमा जहिल्यै रूनुहुन्छ । साथसाथै मप्रति गर्व पनि महसुस गर्नुहुन्छ । कञ्चनजङ्घाबाट फर्किसकेपछि फेरि गर्व महसुस गर्नु भएको छ ।

अब म फेरि फोटो पत्रकारितालाई निरन्तरता दिन्छु । हिमालको वा कुनै पनि ठाउँको राम्रो फोटो खिचेर आफैंमा सीमित राख्ने भन्ने कुरा हुँदैन । त्यसका लागि पनि प्लेटफर्म चाहिन्छ । मैले एकपछि अर्को हिमाल चढ्नुको पछाडिको कारण पनि फोटोग्राफी नै हो ।

जहिले पनि हिमाल चढ्नुअघि समिटसम्म पुग्न नसके पनि एक न एक ठाउँको राम्रो फोटो ल्याउँछु भन्ने नै मेरो लक्ष्य हुन्छ । म अहिले पनि फोटोसम्बन्धी काम गरिरहेकै छु ।

आफूले यही पढेर १० वर्षसम्म काम गरेको क्षेत्र त्यत्तिकै छोड्न सजिलो छैन । भविष्यमा आफूले खिचेका राम्रा–राम्रा फोटोहरू सङ्ग्रह गरेर सङ्ग्रहालयमा राख्ने पनि सोच छ ।

१९ कार्तिक २०७९