महाशिवरात्रीमा झण्डै १५ लाख भक्तजन पुगे पशुपति


टुरिजम पाना काठमाडौं । ७ फाल्गुन २०७९
तस्वीर : विषेश गौतम

महाशिवरात्रीका अवसरमा शनिावर सात लाख भक्तजनले पशुपतिको मूल मन्दिरको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार हिजो मूल मन्दिरको सात लाख भक्तजनले दर्शन गरेका थिए । यस्तै, मन्दिर परिसरमा भने झण्डै १५ लाख भक्तजन पुगेका अनुमान गरिएको छ ।

पशुपतिनाथ मन्दिरको दर्शनका लागि हिजो बिहान ३ बजेदेखि नै लाइन लागेको थियो । दर्शनार्थीका लागि हिजो पाँच वटा लाइनको व्यवस्था गरिएको थियो । दर्शनार्थीले हिजो लामो लाइनमा बस्नु परेको गुनासो गरेका थिए ।

शिवरात्रिका अवसरमा दर्शनार्थीबाट १५ लाखभन्दा धेरै भेटी सङ्कलन भएको पनि अनुमान गरिएको छ । मन्दिरमा चढाइएको भेटीको गणना आज हुनेछ ।
भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।

साधुसन्तको स्तर वर्गीकरण गरेर पाँच सयदेखि आठ हजारसम्म दान दक्षिणा दिएर बिदाइ गर्ने तयारी छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलाई रङरोगन गरिएको थियो भने फूलमालाले सजाइएको थियो ।

७ फाल्गुन २०७९