पोखरा । गण्डकी प्रदेशका ११ जिल्लाका युवाहरूले पर्यटनलाई रोजगारी, उद्यमशीलता र आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरकारसँग विशेष नीति माग गरेका छन् । ‘गण्डकी प्रदेश युवा सम्मेलन २०८३ घोषणापत्र’ मार्फत युवाहरूले पर्यटन क्षेत्रमा युवा उद्यमीलाई व्यवसाय दर्तामा सहुलियत, प्रारम्भिक तीन वर्षसम्म कर छुट तथा सहजरूपमा ऋण उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेका हुन् । साथै अन्नपूर्ण, मनास्लु, धवलागिरि, मुस्ताङ, बन्दीपुर र घान्द्रुकलगायत प्रमुख गन्तव्यमा इको–टुरिज्म, जलयात्रा, कायकिङ, रक क्लाइम्बिङ तथा अन्य साहसिक पर्यटन गतिविधिमा युवाको सहभागिता बढाउन प्रोत्साहनमूलक नीति ल्याउनुपर्ने माग गरेका छन् ।
गैरसरकारी संस्था महासंघ नेपाल र युवा अभियानको संयुक्त आयोजनामा पोखरामा सम्पन्न दुईदिने सम्मेलनपछि सार्वजनिक गरिएको घोषणापत्रमा पर्यटनलाई गण्डकी प्रदेशको आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने उल्लेख गरिएको छ । युवाहरूले स्थानीय स्रोत, संस्कृति, प्रकृति र साहसिक गतिविधिलाई रोजगारी सिर्जनासँग जोड्ने नीति आवश्यक रहेको बताएका छन् ।
घोषणापत्रमा पर्यटन क्षेत्रसँगै युवा उद्यमशीलतालाई प्राथमिकतामा राख्दै व्यवसाय दर्ता प्रक्रियालाई सरल बनाउन, नयाँ उद्यमका लागि कर छुटको व्यवस्था गर्न तथा वित्तीय पहुँच विस्तार गर्न सुझाव दिइएको छ । विदेशबाट फर्किएका युवाको सीप, अनुभव, पुँजी र रेमिट्यान्सलाई उत्पादनमूलक तथा पर्यटन व्यवसायमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने माग पनि गरिएको छ ।
गैरसरकारी संस्था महासंघ नेपालकी वरिष्ठ उपाध्यक्ष नानीमाया थापाले युवाको आवाजलाई नीति निर्माणको केन्द्रमा पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताइन् । उनका अनुसार घोषणापत्रमा समेटिएका विषयहरू गण्डकी प्रदेशको समृद्धि, सुशासन र दिगो विकासका लागि युवाले प्रस्तुत गरेको साझा मार्गचित्र हुन् ।
“गण्डकी प्रदेश पर्यटनको अथाह सम्भावना बोकेको क्षेत्र हो । पर्यटन, उद्यमशीलता, डिजिटल प्रविधि र वातावरणीय दिगोपनलाई जोडेर युवाका लागि रोजगारी र अवसर सिर्जना गर्न सकिन्छ । घोषणापत्रमा समेटिएका सुझावहरूलाई सरकारले नीतिगत रूपमा सम्बोधन गर्न आवश्यक छ,” थापाले भनिन् ।
घोषणापत्रमा अन्नपूर्ण, मनास्लु, धवलागिरि, मुस्ताङ, बन्दीपुर र घान्द्रुकलगायत प्रमुख पर्यटकीय क्षेत्रहरूमा इको–टुरिज्म, जलयात्रा, कायकिङ, रक क्लाइम्बिङ तथा अन्य साहसिक पर्यटन गतिविधिमा युवाको सहभागिता बढाउन विशेष प्रोत्साहन कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । पर्यटन क्षेत्रलाई स्थानीय रोजगारी, सीप विकास र आयआर्जनसँग जोड्नुपर्नेमा पनि युवाहरूले जोड दिएका छन् ।
यसैगरी डिजिटल पूर्वाधार विस्तार, उच्च गतिको इन्टरनेट पहुँच, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल मार्केटिङसम्बन्धी शिक्षा विस्तार गरेर पर्यटन प्रवर्द्धन र उद्यमशीलतालाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने सुझाव पनि घोषणापत्रमा समेटिएको छ ।
जलवायु परिवर्तनका असर पर्यटन क्षेत्रमा समेत देखिन थालेको उल्लेख गर्दै युवाहरूले हिमाली तथा पहाडी क्षेत्रमा विपद् व्यवस्थापन क्षमता सुदृढ गर्न, हरित पूर्वाधार विस्तार गर्न र दिगो पर्यटन अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । फोहोर व्यवस्थापन, विद्युतीय सवारी प्रवर्द्धन तथा वातावरणमैत्री पर्यटन गतिविधिलाई प्राथमिकता दिनुपर्ने सुझाव पनि उनीहरूले दिएका छन् ।
सम्मेलनमा सहभागी युवाहरूले पर्यटन, उद्यमशीलता, वातावरण संरक्षण, डिजिटल सुरक्षा र सुशासनका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै गण्डकी प्रदेशलाई युवामैत्री, उद्यमशील र दिगो पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।








