आकर्षणको केन्द्रमा मगर लाफा भिलेज, कसरी पुग्ने?

भ्यु टावरले पर्यटक थप रोमाञ्चित


उपासना शर्मा तनहुँ । १४ चैत्र २०७९

तनहुँको भिमादस्थित मिछुर्लुङमा रहेको मगर लाफा भिलेज पछिल्लो समय पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ । प्रकृति, संस्कृति र मगर संस्कारलाई प्रवद्र्धन गर्दै आएको यो रिसोर्ट पछिल्लो समय निकै नै लोकप्रिय बन्दै गइरहेको छ ।

पत्रकार प्रताप रानाको व्यक्तिगत लगानीमा सो रिसोर्ट सञ्चालनमा आएको आगामी नयाँ वर्षमा एक वर्ष पुग्छ । एक वर्षको अवधिमा रिसोर्ट पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

प्रकृतिको सुन्दर दृश्यावलोकन, मगरको संस्कार, सँस्कृति बुझ्न पर्यटकहरू रिसोर्ट पुग्ने गरेका छन् ।

रिसोर्टको मुख्य आकर्षण घुमाउने घर र खुर्पेटो रहेको छ । लोप हुन लागिसकेको अवस्थाको खुर्पेटो र घुमाउने घर रिसोर्टमा राखिएको छ । जसलाई हेर्नका लागि पछिल्लो पुस्ताहरू लालायित हुने गरेको सञ्चालक राना बताउँछन् ।

मगर समुदायको चिनारीको रुपमा रहेको खुर्पेटो रिसोर्टको अगाडि नै देख्न सकिन्छ । साथै रिसोर्टमा रहेको घुमाउने घरमा पूरानै किसिमको खरको छानो राखिएको छ ।

रिसोर्टमा ढिकी, जाँतो जस्ता पूराना सामाग्रीहरू पनि राखिएको छ । ‘पछिल्लो पुस्तालाई चिनाउने उद्देश्यले रिसोर्टमा पूरातात्विक तथा धार्मिक महत्वका सामाग्रीहरू राखेका छौँ,’ सञ्चालक रानाले भने ।

त्यहाँ ढिकी जाँतो हेर्ने मात्रै हैन चलाउन नै पाइन्छ ।

रिसोर्टमा पुगेका पाहुनाहरूलाई गाउँमै उत्पादन भएको परिकार दिइन्छ । ‘सागसब्जी त लोकल भइहाल्छ, चामल पनि यहीँ आफ्नै बारीमा उत्पादन गरिएको खुवाउने गरेका छौँ,’ उनले भने ।

रिसोर्ट व्यक्तिगत लगानीमा सञ्चालित भएपनि समुदायलाई नै यसले समेटेको पाइन्छ । त्यहाँ पुगेका पाहुनाहरूलाई उनीहरूको चाहनाअनुसार लोकप्रिय नाच कौरा नाच देखाउने गरिएको छ । जसका लागि स्थानीय मिर्छुलुङ सांस्कृतिक ससमूहले सो नाच देखाउँछन् ।

रिसोर्टमा डुंगाको पिङ पनि राखिएको छ । डुंगाको पिङमा युवापुस्ताको विशेष आकर्षण पाइएको सञ्चालक राना बताउँछन् ।

मगर लाफा भिलेज रिसोर्ट प्रालिसले सो रिसोर्ट सञ्चालन गर्दै आइरहेको छ ।

लाफा भेलेज रहेको मिर्छुलुङको डाडाँमा एक भ्यु टावर समेत रहेको छ । उक्त भ्यु टावरले आन्तरिक पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । स्थानीयको सक्रियतामा निर्माण गरिएको मिर्छुलुङ भ्यु टावरबाट सुन्दर दृश्यहरुको अवलोकन गर्न पाउँदा पर्यटकहरु थप रोमाञ्चित हुने गरेका छन् ।

कसरी पुग्ने ?

भिमादको मिर्छुलुङमा रिसोर्ट रहेको छ । तनहुँको खैरेनीटारबाट भिमाद हुँदै मिर्छुलुङ पुग्न सकिन्छ । खैरेनीटारबाट भिमाद ८ किलोमिटर मुख्य सडकमै पर्छ । भिमादबाट ४ किलोमिटर माथि मिर्छुलुङमा जानका लागि सार्वजनिक बस सहजै लाग्छ ।

त्यहाँ पुग्न बस भाडा सामान्यतयाः ५० रुपैयाँ लाग्छ । मिर्छुलुङबाट सहजै रिसोर्ट देख्न र पुग्न सकिन्छ ।

तस्वीरहरु : प्रताप राना/ मगर लाफा भिलेज 

१४ चैत्र २०७९