नेवारी परिकार जानकारी दिन ‘वः फेस्टिभल’ आयोजना गरिँदै


टुरिजम पाना संवाददाता भक्तपुर । ४ जेष्ठ २०८०

नेवार समुदायमा खाने परिकार वः बारे जानकारी दिन वः फेस्टिभल आयोजना गरिने भएको छ । वः फेस्टिभल आगामी शनिवार पहिलो पटक भक्तपुरस्थित मध्यपुरको निगु पुखुमा गर्न लागिएको हो ।

मध्यपुर ठिमी नगरपालिकाले मध्यपुर पर्यटन विकास समितिसँगको सहकार्यमा वः फेस्टिभल आयोजना गर्न लागेको हो । जानकारहरूका अनुसार, नेपालमा वः खाने प्रचलन मल्लकालबाट शुरू भएको पाइन्छ ।

भक्तपुरको तलेजु भवानीलाई चढाइने ८४ प्रकारका रोटीमध्ये वः का विभिन्न प्रकार पनि समावेश गर्ने प्रचलन रहेको छ । माय वः, मुं वः, मुसू वः, कःसू वः, भुति वः, मुस्या वः, चिचिन्दा वः लगायतका वःहरू तलेजु भगवानलाई चढाइने गरिएको जानकारहरू बताउँछन् ।

नेवार समुदायमा जन्मदेखि मृत्यु संस्कार र मृत्युपश्चात श्राद्ध तथा अन्य विभिन्न चाडपर्व मनाउन र देवीदेवतालाई चढाउन पनि वः को प्रयोग गर्ने गरेको पाइन्छ । त्यस्ता वःबारे पछिल्लो समय धेरैले जानकारी नपाएको भन्दै स्थानीय परिकारको जानकारी दिने उद्देश्यले वः फेस्टिभल आयोजना गरिएको स्थानीय पर्यटन व्यवसायी विक्रम बादेले जानकारी दिए ।

४ जेष्ठ २०८०