नेपालका लागि नौलो रेगी र टिकीको कक्टेल कल्चर ‘टिकी बार’ पोखरामा


टुरिजम पाना पाेखरा । १४ मंसिर २०७९
tiki bar pokhara

बारहरुको भिडमा फरक स्वाद र फ्रेम लिएर पोखराको लेकसाइडमा टिकी बार सञ्चालनमा छ । यो बार टिकी कल्चर र रेगी म्युजिक गरी दुई वटा फरक संस्कृतिको इन्फ्युजन मानिन्छ । अमेरिकी देशबाट विकास भएको टिकी नेपालका लागि नौलो संस्कृति र फरक अभ्यास हो ।

टिकी संस्कृति ड्रिंक्समात्र होइन, यसको फ्रेमिङ, नेचुरल काठ, सजावट र स्वादको मिश्रणबाट विशेष परिचित छ । टिकी कल्चर अमेरिकी हवाइ राज्यबाट सुरु भएको हो ।

त्यस्तै, रेगी म्युजिक जमैकाबाट १९६० मा उत्पत्ति भएको हो । दुई फरक संस्कृतिको समिश्रण गरिएकाले अन्य बारभन्दा यो निकै भिन्दै किसिमको छ । बारको बार्दली र रुफ टपमा बसेर म्युजिक सुन्दै कक्टेलको स्वादमा लेकसाइडको चहलपहल हेर्दै रमाउन सकिन्छ ।

cocktail tiki bar

पोखरामा गत वैशाखदेखि सञ्चालनमा आएको बारमा अहिलेसम्म प्लास्टिकहरु प्रयोग नभएको सञ्चालक दिनेश महर्जन बताउँछन् । त्यहाँ सजाउनका लागि भैँसी, गोरुको सिङ, चिल गिद्धको पखेटा, पुराना फर्निचर, मूर्ति, माटोका ग्लासहरु, बाँसबाट बनाएको मगहरु रहेका छन् ।

tiki bar pokhara

नेपालमा भएका अन्य बारभन्दा युनिक भएर पनि पर्यटकको रोजाइमा परेको हुन सक्ने महर्जनले बताए । बारमा पुग्नेमध्ये ८० प्रतिशत विदेशी छन् । बारमा जम्बी, सिग्न्याचर, फ्रिकी टिकी लगायतका कक्टेल ड्रिंक्स पाइन्छ ।

फरक संस्कृति र उत्पत्तिको इतिहास भएको टिकी कल्चरमा प्रयोग हुने भाडाहरु पनि अन्यभन्दा भिन्दै हुन्छन् । यसैले पनि त्यहाँ प्रयोग गरिने ग्लासहरु नेपालमा उत्पादन गर्न मुश्किल हुने थापाको भनाइ छ । उत्पादन गर्न गाह्रो हुने र मूल्य पनि बढी पर्ने भएकाले चीनबाट मगाउने गरिएको छ ।

टिकी कल्चर भन्नेवित्तिकै फेन्सी शैलीभन्दा फरक किसिमको हुन्छ । त्यसैले पनि नेचुरल वुडहरुको प्रयोग बारमा गरिएको छ । पोखरामा रहेको बारमा दुईवटा तला छन् । जसमध्ये माथिल्लो तला खुला बगैँचाको अवधारणामा बनाइएको छ ।

पामको रुख समुद्र छेउमा हुने भएकाले त्यस्तै गरी त्यहाँ पामको रुख पनि लगाइएको छ । टिकीको नाम लिनेवित्तिकै ड्रिफ्टवुड अगाडि आउँछ भने रेगीसँग विड जोडिन्छ ।

दिनेश महर्जन, विकास गुरूङ र विजय थापाले मिलेर टिकी बार सुरू गरेका हुन् । नेपालमा अहिलेसम्म टिकी कल्चर खासै सुरू नभएको अवस्थामा पर्यटकको अत्यधिक चहलपहल हुने पोखराको लेकसाइडमा खोलिएको महर्जनको भनाइ छ ।

टिकी कल्चरको इतिहास

टिकी संस्कृति पोलेनेसियनसँग जोडिएको छ । टिकी भनेको त्यहाँ इश्वरले बनाएको पहिलो पुरुष भन्ने बुझिन्छ । टिकीबारमा काठमा कुँदेर बनाइएका अनुहार तिनै पुरुषको भएको मानिन्छ । टिकी दक्षिण प्रशान्त पौराणिक कथा, संस्कृति र इतिहासको अभिन्न अंग हुन् ।

tiki bar pokhara

टिकीअन्तर्गत पाइने कक्टेलहरु उष्ण हावापानी भएको क्षेत्रका मानिसहरुले सन् १९३० देखि नै खान सुरु गरेका थिए ।

पछि ५० को दशकमा अर्नेस्ट गान्टले क्यालिफोर्नियामा पहिलो टिकी रेस्टुरेन्ट खोलेपछि टिकी बार एन्ड रेस्टुरेन्ट कल्चरको रुपमा विकास भयो । टिकी कक्टेलको दुनियाँमा क्रान्ति ल्याउने अर्को नाम ट्रेडर विक भनेर चिनिने भिक्टर पनि हो ।

मानिसहरु ट्रपिकल क्षेत्रका स्वादहरुमा आकर्षित छन् भन्ने थाहा पाएपछि यी दुवैले टिकी बार अमेरिकी भर विस्तार गरेका थिए ।

tiki bar culture pokhara

१४ मंसिर २०७९