पोखरामा होलीको हर्षोल्लास, रङ खेल्न पाउँदा रमाए विदेशी पर्यटक


टुरिजम पाना पोखरा । २२ फाल्गुन २०७९

नेपालको पर्यटकीय नगरी पोखरा । पोखराको पनि विदेशी पर्यटकको केन्द्र लेकसाइड । आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा निकै रमाए । होली नेपाली परम्पराको रङको पर्व । एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ ।

विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि । विदेशी पर्यटक पनि आज यहाँ नेपालीसरह नै रङमा रमाए । निकै खुसी हुँदै विभिन्न रङ लगाउँदै होली खेले । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन रेवान पोखराले फागुपूर्णिमाका अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रमा विभिन्न देशका पाँच सय बढी पर्यटकले एकअर्कामा होली रङ लगाएर रमाएका थिए ।

होलीको रङसँगै रमाइरहेका जर्मन नागरिक मरियसले यो विशेष दिनले निकै खुसी दिएको बताए । “निकै खुसी लागेको छ, पोखरामा आएर रङसँग रमाउन पाउँदा, आनन्द पनि लागेको छ, सबै जनालाई खुसी देखेको छु”, उनले भए ।

तीन हप्ताअघि बेल्जियमबाट नेपाल आएकी लिसाले पनि रङसँग रमाएको आजको दिन जीवनमा यादगार हुने बताईन् । रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले रेवानले हरेक वर्ष फागुपूर्णिमा होली विशेष महोत्सव गर्दै आएको र यस वर्ष पनि विदेशी पर्यटकको उल्लासमय उपस्थितिका कार्यक्रम गरेको बताए ।

“कोरोना महामारीपछि यो वर्ष पर्यटकको उल्लासमय उपस्थिति रह्यो, विदेशी पर्यटक एकअर्कालाई रङ दलेर आत्मियता र माया साटिरहेको हामीले पायौँ । यो हाम्रो संस्कृतिप्रतिको सम्मान हो”, पौडेलले भने ।

महोत्सव पोखराको लेकसाइडको अम्बोटबाट हल्लनचोकसम्म पञ्चेबाजासहित पर्यटन व्यवसायी, आन्तरिक तथा बाह्य पर्यटक विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा र्‍याली निकालिएको थियो ।

२२ फाल्गुन २०७९