अन्नपूर्ण प्रथम हिमाल चढ्न म्याग्दी पुगिन कतारकी राजकुमारी


टुरिजम पाना काठमाडौं । २२ फाल्गुन २०७९

कतारकी अधिराजकुमारी (राजपरिवार सदस्य) अस्मा अल थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी पुगेकी छिन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट टेकिङ कम्पनीमार्फत उहाँ अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन् ।

काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण –३ दानामा पुगेकी हुन् । आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएकी निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन् ।

यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । अधिराजकुमारी थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसकेका छन्। कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका छन् ।

नागरिक अभिनन्दन् र बाजागाजासहित गाउँ परक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताए । “दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको हुँदा निर्मल पुर्जालाई सम्मान गरेका हौं,” उनले भने “निर्मल विश्वकै साहसिक युवा हो ।”

दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी अधिराजकुमारी दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताए ।

सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो ।

नारच्याङका अगुवाहरुले २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमापर्ने तथ्यसहित मिस्ट्री खोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ ।

समुद्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृष्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।

२२ फाल्गुन २०७९