दमौलीमा जारी सांस्कृतिक एवम् पर्यटन महोत्सवको पाँचौ दिन, ६० हजारले गरे अवलोकन


टुरिजम पाना दमौली । २६ पुष २०७९

तनहुँको दमौलीमा जारी पाँचौ आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवम् पर्यटन महोत्सवमा करिब ६० हजारले अवलोकन गरेका छन् ।

नेपाल आदिवासी जनजाती महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा गत पुस २२ देखि जारी महोत्सवमा चौथो दिनसम्म करिब ६० हजार वढीले अवलोकन गरेको परिषद्का अध्यक्ष सुजित हिराचनले बताए ।

‘अमूल्य भाषा संस्कृतिको संरक्षण गरौं, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ’ भन्ने नाराका साथ विपी वनवाटिकाको खेल मैदानमा जारी महोत्सव माघ ३ गतेसम्म चल्ने छ । समग्र तनहुँ जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्ने, विभिन्न जातजातीका संस्कृतीको प्रवद्र्वन गर्ने महोत्सवको मुख्य लक्ष्य रहेको हिराचन बताउँछन् । दर्शकलाई मनोरञ्जन दिनका लागि राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरु प्रस्तुती समेत दिईरहेका छन् ।

महोत्सवमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्यार्थीका लागि रु ५० र अन्यका लागि रु ७० टिकट शुल्क कायम गरिएको छ । स्थानीय भाषा, धर्म, कला र संस्कृतिको प्रवद्र्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा मादी र सेतीमा जलविहार, आदिवासी जनजातीको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रदर्शनी, जीवनशैली प्रस्तुति, नमुना घर निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालयस्तरीय प्रतिभा प्रस्फुटन लगायत आकर्षण रहेका छन् ।

पुस २२ देखि दमौलीमा सांस्कृतिक एवम् पर्यटन महोत्सव

२६ पुष २०७९