पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण सम्पन्न भएपछि फ्लाईदुबईले आगामी सेप्टेम्बर २३, २०२६ देखि दैनिक उडान सञ्चालनका लागि अनुमति प्राप्त गरेको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त निर्णयले सम्पूर्ण पोख्रेलीमा नयाँ उत्साह थपेको बताएका छन्। उनका अनुसार यो केवल नयाँ हवाई सेवा थपिने विषय मात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधि विस्तार गर्ने तथा काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसर हो।
मेयर आचार्यका अनुसार दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापना भएपछि मध्यपूर्व, युरोप र अफ्रिकासहित विश्वका ३०० भन्दा बढी सहरसँग पोखराको पहुँच विस्तार हुनेछ। यसले पर्यटन तथा व्यापारिक गतिविधिलाई समेत थप टेवा पुग्ने विश्वास गरिएको छ।
उक्त उपलब्धिका लागि लामो समयदेखि विभिन्न पक्षले निरन्तर प्रयास गर्दै आएको उल्लेख गर्दै आचार्यले नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेल, युनिभर्सल ट्राभल्सका अध्यक्ष पराशर प्रसाईसहित सम्पूर्ण सरोकारवाला निकाय र टोलीप्रति धन्यवाद व्यक्त गरेका छन्।
उनले प्रारम्भिक चरणको उडानलाई सफल बनाउन पर्यटन व्यवसायी, पोख्रेली नागरिक तथा स्वदेश–विदेशमा रहेका नेपालीहरूलाई पोखरा–दुबई रुट प्रयोग गरी साथ दिन आग्रह गरेका छन्।
“हामी सबैको साथ र विश्वासले यो उडान नियमित मात्र नभई दीर्घकालीन रूपमा सञ्चालन हुने सेवा बन्नेछ,” आचार्यले भने।
पर्यटनको राजधानीका रूपमा परिचित पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने यो कदमलाई पोखराको विकास र समृद्धिको महत्वपूर्ण अध्यायका रूपमा हेरिएको छ।








