पोखरामा शुरु भयो २४ औं सडक महोत्सव, लेकसाइडमा पर्यटकको बिशेष चहलपहल


टुरिजम पाना पोखरा । १३ पुष २०७९

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा सडक महोत्सव आजबाट शुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा आजदेखि २४ औं संस्करणको महोत्सव सुरु भएको हो ।

सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नारासहित पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आजबाट शुरु भएको महोत्सव १७ पुससम्म चल्नेछ । महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले उद्घाटन गरे । महोत्सव उद्घाटनअघि लेकसाइडको हल्लनचोकबाट विभिन्न जातजाति, आमा समूह, संघ संस्थासँगै देशका विभिन्न भागबाट आएका सांस्कृतिक समूहको झाँकी र नृत्यसहितको र्याली कोमागाने पार्कमा पुगेर उद्घाटनमा सहभागी भएका थिए ।

कोरोनापछि शून्य रहेको पर्यटन क्षेत्रलाई महोत्सवले चलायमान बनाउने विश्वास रहेको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । महोत्सव अवधिभर त्यसक्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्टहरूले आफ्ना भान्छा सडकमै राख्ने र त्यहीँबाट पर्यटकलाई सेवा दिने गर्दछन् । महोत्सवमा रेबानमा आबद्ध रेष्टुरेन्टसँगै खाना र अन्य गरी तीन सय ५० वटा स्टल सडकमा राखिएका छन् ।

यसका साथै लोपोन्मुख भेषभूषा, कला, संस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु सामग्रीको संरक्षण र प्रवर्द्धन, पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, आर्थिक क्रियाकलाप अभिवृद्धि तथा समग्र आर्थिक विकास र समुन्नतिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सडकमा दैनिक राई र लिम्बूको च्याब्रुङ र साकेला नृत्य, भैरव पूजा, तयामचा, लाखे, घाँटु, सोरठी, छेडु, तामाङ सेलो, कौरा, मारुनी, रोदी, झाम्रो नाँच देखाइनेछ ।

महोत्सवलाई लक्षित गर्दै पर्यटकीय क्षेत्र लेकसाइडका व्यवसायीले लेकसाइडसँगै फेवाताल किनारालाई झकिझकाउ बनाईएको छ । महोत्सवमा हेर्न र पोखरामा घुम्न आउने आन्तरिक पर्यटकहरूको लेकसाईडमा पर्यटकको आवागमन वढेको छ ।

१३ पुष २०७९