नेपालमा गैँडा संरक्षणको विभिन्न उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘एसिया राईनो रेन्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको सम्मेलन आगामी माघ २० देखि २२ गते (फेब्रुअरी ३ देखि ५ तारिख) सम्म चितवनमा हुनेछ ।
सम्मेलनमा एसियामा गैँडा पाइने देश नेपाल, भारत भूटान, मलेसिया र इण्डोनेसियाका सम्बन्धित सरकारी प्रतिनिधि, गैँडा संरक्षणमा काम गर्ने साझेदार संस्थाहरू, सरोकारवाला विशेषज्ञ समूहलगायतको सहभागिता रहनेछ । यस्तो सम्मेलन यसअघि पहिलो पटक इण्डोनेसियमा र त्यसपछि भारतमा भइसकेको छ ।
गैँडा संरक्षणमा देखिएका समस्याहरू, गैँडाको बासस्थानको क्षयीकरण, खण्डीकरण र विनाश, चोरी शिकार र अङ्गको अवैध व्यापार, जलवायुजन्य जोखिमको समाधान, गैँडाको जलवायु अनुकूलन गर्ने क्षमतालगायत विषयमा सम्मेलनमा छलफल हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
यस बाहेक गैँडा र मानवबीचको द्वन्द्व समाधान, स्थानीय समुदाय र निजी क्षेत्रलाई गैँडालाई आर्थिक उपार्जनको माध्यम पर्यापर्यटनबाट कसरी जिविकोपार्जनमा टेवा पुर्याउन सकिन्छ भन्ने सम्बन्धमा असल अभ्यासको आदानप्रदान गरिने विभागका महानिर्देशक डा महेश्वर ढकालले जानकारी दिए ।
सम्मेलनमा गैँडा संरक्षणका लागि प्रविधिको प्रवद्र्धन, गैँडाको बासस्थानलाई सुरक्षित गर्ने, द्वन्द्व व्यवस्थापन गर्ने, जलवायु उत्थानशीलता बढाउने विषय र जनचेतना बढाई स्थानीय र राष्ट्रिय समृद्धिमा टेवा पुर्याउने उद्देश्य राखिएको छ । यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको जैविक विविधताको पहिचानलाई अझ उच्च र चम्किलो बनाउने उदेश्य रहेको डा ढकालले बताए ।
नेपालमा गैँडाको अवस्था
संसारमा हात्तीपछिको सबैभन्दा ठूलो स्थलचर जीव गैँडा हो । हाल संसारमा रहेका गैँडाका पाँच प्रजातिमध्ये ठूलो एकसिङ्गे गैँडा नेपाल, भारत र भूटानमा पाइन्छ । संसारमा एकसिङ्गे गैँडाको सबैभन्दा धेरै सङ्ख्या भारतमा रहेको छ भने दोस्रो ठूलो सङ्ख्या नेपालमा रहेको छ ।
कुनै समय नेपालको सबै तराईका क्षेत्रमा विचरण गर्ने एकसिङ्गे गैँडा हाल चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा तिनीहरूको आसपासका वन क्षेत्रमा रहेका छन् । गैँडा विश्वबाट लोप हुने अवस्थमा पुगेको दुर्लभ वन्यजन्तु हो ।
नेपालमा प्रत्येक तीनदेखि पाँच वर्षको अन्तरालमा गैँडा गणना हुने गर्दछ । नेपालमा गैँडा गणना सन् १९८६ देखि हुन थालेता पनि नेपाली प्राविधिकहरूले आफैँ गणना गर्न थालेको सन् १९९४ देखि हो ।
यसअघि सन् २०००, २००५, सन् २००८, सन् २०११ र सन् १०१५ मा गैँडा गणना गरिएको थियो । सन् २००० मा गरिएको गणनामा नेपालमा छ सय १२, सन् २००८ मा चार सय ३५, सन् २०११ मा पाँच सय ३४ र सन् २०१५ मा छ सय ४५ वटा गैँडा पाइएको थियो । नेपालमा पछिल्लो समय गैँडा गणना २०७७ साल चैत ९ देखि २८ गते सम्पन्न भएको थियो ।
राष्ट्रिय गैँडा गणना २०७७ मा सङ्कलन भएका विवरणको विश्लेषणबाट नेपालमा प्राकृतिक बासस्थानमा सात सय ५२ एक सिङ्गे गैडा रहेको यकिन गरिएको छ । त्यसमध्ये वयस्क भालेको सङ्ख्या एक सय ४६ र पोथीको सङ्ख्या एक सय ९८ छ भने लिङ्ग पहिचान नभएको सङ्ख्या चार सय आठ छ । त्यस्तै वयस्क गैँडा पाँच सय २०, अर्ध वयस्क ९६ र बच्चा एक सय ३६ छन् ।
नेपालमा हाल सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन गैँडा रहेका छन् ।
सन् १९५० सम्म नेपालमा आठ सय गैँडा रहेको अनुमान गरिन्छ । तर १९६० को दशकमा घटेर करिब एक सय हाराहारीमा पुगेको थियो । सरकारले संरक्षणका लागि गरेको विभिन्न पहलसँगै गैँडाको सङ्ख्या क्रमशः बढ्दै गएको छ ।(भीष्मराज ओझा/रासस)