राजतन्त्रको निशानी रत्नमन्दिर सर्वसाधारणका लागि खुला, कति छ टिकट शुल्क, के हेर्न पाइन्छ ?


टुरिजम पाना संवाददाता गण्डकी । १५ जेष्ठ २०८०

देशमा गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर एक छिन घोरिएर हेर्न पनि डराउनुपथ्र्यो । सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै नजानेर किनाराबाट पैदल हिँड्ने सर्वसाधारण पनि सुरक्षाकर्मीको गाली खाएपछि अर्को किनाराबाट हिँड्न बाध्य थिए ।

त्यही रत्नमन्दिर भित्र आज भने हुलकाहुल पोखरेली भित्रै पसेर फोटो र सेल्फी लिन व्यस्त देखिन्थे । गणतन्त्र स्थापनाको १५ वर्ष पूरा भएका अवसरमा पोखरेलीको वर्षौंदेखिको रत्नमन्दिर हेर्ने चाहना सोमबार (गणतन्त्र दिवसका दिन) पूरा भएको छ ।

नेपाल ट्रष्टको कार्यालयले सोमबारदेखि सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला गरेको हो । पर्यटकीय नगरी पोखरामा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक कार्यक्रमका बीच औपचारिक रुपमा सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला गरेका हुन् । गणतन्त्र स्थापना पश्चात पूर्वराजपरिवारको सम्पत्तिका रुपमा रहेको रत्नमन्दिर अहिले नेपाल ट्रष्टका नाममा छ । गणतन्त्रपछि रत्नमन्दिर खुल्ने विषयले पटकपटक चर्चा पाए पनि यो कार्यान्वयनमा आउन सकेको थिएन ।

फेवातालको किनारमा रहेको यो ऐतिहासिकस्थल करिब एक सय ७४ रोपनी क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजा महेन्द्रले आफ्नी रानी रत्नको नाममा विसं २०१३ मा निर्माण सुरू गरी २०१५ सालमा यसको निर्माण सम्पन्न भएको थियो । विगतमा यसको प्रयोग राजारानी, दरबारका विशिष्ट पाहुना पोखरा आउँदा बस्नुका साथै राजकीय निमन्त्रणामा आएका अतिविशिष्ट पाहुना बस्ने स्थलका रुपमा यस दरबारलाई लिइन्थ्यो ।

यस दरबारमा चीनका प्रधानमन्त्री, बेलायती महारानीलगायत अन्य विशिष्ट विदेशी पाहुनाको आगमन भएको र बास बसेको पाइन्छ । यस परिसरभित्र रत्नमन्दिर दरबारलगायत तालघर, बाग बगैँचा र अन्य प्रयोजनका साना ठूला गरी १० भवन छन् ।

दरबारभित्र बैठक कक्ष, राजारानीको शयन कक्ष, शाही नातेदारले प्रयोग गर्ने शयन कक्ष, डाइनिङ कक्षलगायत ११ कोठा छन् । यहाँबाट फेवाताल, तालपारीको रानिवन र माथि विश्वशान्ति स्तूप, पुम्दीकोटलगायतका सुन्दर दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ । रत्नमन्दिरमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला पुगेको कुरा उहाँले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन् ।

गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राज परिवारका नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टका नाममा ल्याउने सरकारी निर्णयपछि यो नेपाल ट्रष्टको स्वामित्वमा छ । तत्कालीन राजपरिवारका नारायणहिटीलगायतका दरबार गणतन्त्र आएपछि खुला भए पनि रत्नमन्दिर नखुल्दा पोखराका पर्यटन व्यवसायीले निरन्तर खुलाउन माग गर्दै आएका थिए ।

कार्यक्रममा मन्त्री किरातीले गणतन्त्रको उपहारस्वरुप रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरिएको बताए । पर्यटकीय नगरी पोखरामा रहेको यस ऐतिहासिक सम्पदाको संरक्षणसँगै प्रवद्र्धन गरी अधिकतम उपयोग गरिनुपर्नेमा उनले जोड दिए ।

विसं २०१३ मा निर्मित यो सम्पदालाई तत्कालीन समयको समाजसँग तुलना गरेर हेर्नुपर्ने उनको भनाइ छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रत्मन्दिर खुला गरिनुले पोखराको पर्यटनमा थप टेवा पुगेको बताए । हालका लागि रत्नमन्दिरका बाहिरी भाग खुला गरिएको उल्लेख गर्दै उनले भित्री भाग खुला गर्न कमजोर संरचनालगायतका कारण अझै केही समय लाग्ने बताए ।

कति लाग्छ टिकट शुल्क ?

स्वदेशी नागरिकका लागि रु एक सय र विदेशीका लागि रु एक हजार टिकट शुल्क तोकिएको छ भने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि रु ५० शुल्क निर्धारण गरिएको छ । कार्यालयको पूर्वस्वीकृति लिएर वृत्तचित्र तथा भिडियोग्राफी वापत प्रतिघण्टा रु पाँच हजार र व्यावसायिक भिडियोग्राफी वापत प्रतिघण्टा रु १० हजार शुल्क निर्धारण गरिएको छ ।

रत्नमन्दिर परिसर अवलोकनका लागि प्रत्येक हप्ताको सोमबारबाहेक बिहान १० देखि साँझ ५ बजेसम्म समय निर्धारण गरिएको छ । आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म खुला रहने व्यवस्था मिलाइएको छ ।

१५ जेष्ठ २०८०