माघेसंक्रान्तिमा किन खाइन्छ ‘चाकु’ ?

नेवार समुदायको शुरु भएको चलन विदेशसम्म


तेजेश्वरबाबु ग्वोंग काठमाडौं । १ माघ २०७९

चाकु विशेष गरि जाडो महिनामा खाने गरिन्छ । उपत्यका र आसपासका ठाउँहरूमा विगतमा राम्रो उखु खेती हुन्थ्यो । त्यसलाई सदुपयोग गर्नका निम्ती त्यो बेलामा मानिसहरूले उखुलाई पेलेर त्यसको रसबाट चाकु बनाउने गर्थे ।

त्यसैलाई निरन्तरता दिँदै अहिले पनि टोखा र खोकनाका मानिसहरूले चाकु बनाउने र बेच्ने गरेको पाइन्छ । पहिला चाकु बनाउँदा सादा बनाइन्थ्यो भने अहिले बजार माग अनुसार विभिन्न मरमसला सहितको चाकु बनाउन थालिएको छ ।

माघे संक्रान्तिमा चाकु, घिउ, चिउरा, तरुल, सखरखण्ड लगायतका परिकार खाइन्छ । यसको इतिहास भनौँ वा कहिलेबाट यो परम्परा सुरु भयो ? भन्ने विषयमा कुनै निश्चित वा लिखितम प्रमाण कतै उल्लेख भएको पाईदैन् । तर मानिसले जुन बेलादेखि उखु खेती गर्न जाने र चाकु बनाउने प्रविधिको विकास भयो, त्यो बेलादेखि नै चाकुको चलक आएको मान्न सकिन्छ ।

यस्तै, विगतमा काठमाडौं एउटा नेवारी बस्ती भएको हुनाले नेवार समुदायले विशेषत चाकुको प्रयोग गर्थे । तर अहिले यो नेवार बस्तीमा मात्र सिमित रहेन । यहाँ हरेक समुदायमा मानिस बसोबास गर्न थालका छन् । भने यहाँका कतिपय नेवारहरू उपत्यका बाहिर पनि बसाइ सरेका छन् । यसै क्रममा चाकु बनाउने र खाने चलन देशव्यापी वा भनौँ अन्तराष्ट्रिय स्तरसम्म पनि पुगिसकेको छ ।

आधुनिकतासँगै केही परम्परा एवं चलनहरू लोप हुँदै गएको अवस्थामा चाकुको संस्कृति अन्तराष्ट्रिय स्तरसम्म पुग्नु एउटा राम्रो पक्ष हो । हाम्रो समाजमा ‘पुसभन्दा माघ के कम’ भन्ने भनाइ छ । यसको अर्थ पुस महिनाको तुलनामा माघ अझ बढी जाडो हुने महिना हो भन्ने बुझिन्छ ।

यो समयमा शरिरमा चिसोसँग लड्ने क्षमता विकास गर्नकै लागि चाकु खाने गरिएको हो । यसलाई जाडोको औषधीको रूपमा पनि खाने गरेको पाइन्छ । माघे संक्रान्तिमा मात्रै नभई महिलाहरू सुत्केरी हुँदा पनि उनीहरूलाई चाकु, चाकुभात, घिउ दिने चलन छ । यसले उनीहरूलाई थप न्यानोपन दिनुका साथै ताकत पनि दिने मान्यता छ ।
यसर्थमा विगतका मानिसहरूसँग आधुनिक प्रविधि बिना पनि मौसनको अनुमान लगाइ त्यससँग प्रतिरोधात्मक क्षमता विकास गर्ने विभिन्न उपायहरू आफै निकाल्न सक्ने ज्ञान र सिप थियो भन्ने कुरा पनि प्रष्ट हुन्छ ।

हुन त उपत्यका बाहेक अन्य ठाउँमा पनि उखु खेती हुन्छ । तर यहाँका मानिसले उखबाट चाकु बनाउने प्रविधि विकास गरेसँगै उपत्यकाका नेवारहरूको बौद्धिकताको बारे पनि जान्न सकिन्छ । यसले यहाँका मानिसहरू किसानमात्रै नभइ प्रविधि विज्ञ पनि रहेछ भन्ने कुराको पनि प्रमाण दिन्छ ।

पृथ्वीनारायण शाहको पालामा उपत्यकाका जतिपनि नेवारहरू पोखरा, बाग्लुङ लगायत उपत्यका बाहिर बसाइ सरे ती सबै ठाउँहरूमा आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिइरहेका छन् । त्यसैकारण पनि विगतमा उपत्यकामा मात्र मनाइने कतिपय चाडपर्व र संस्कृति अहिले उपत्यका बाहिर पनि मनाउने गरेको पाइन्छ । (ग्वोंग संस्कृतिविद् हुन् ।)

१ माघ २०७९