आइतबार काठमाडौँदेखि भरतपुर जान लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ ।
‘बिहान सात बजे उड्नु पर्ने हो । तर ढिला भएर दिउँसो १२ : २० मा उड्न थाल्यो । टेक अफ हुनेबेलामा रन वे मै भित्र बच्चाले झ्याल चलाउँदा त्यसको सिसा नै भत्कियो । त्यसपछि प्लेनबाट झरेर बस चढेर अर्को प्लेनमा बस्ने तयारी गरियो ।’ जहाजका यात्रु जीवन पराजुलीले बताए ।
उनले सामाजिक सञ्जालमा पनि यस बारे लेखेका छन् । ‘हो १ बिहान ७ बजेको टिकट, १२ः२० मा उड्न लागेको, जहाजको झ्याल भत्कियो। फेरी रोकियो ! अब के हुन्छ ? जे कामको लागी भरतपुर हिँडेको समय नै सकियो ! यो जहाज कस्को होला त ? उड्ने बेला झ्याल खुल्यो !’
बुद्ध एयरको यस्तो लाप्रवाहीबाट यात्रुहरु बारम्बार आक्रोसित भइरहेका छन् । यहि आक्रोसमा यात्रु जीवनले थप्छन्,‘ रनवेमा जहाज उड्ने तयारीमा रहेको बेला यसरी झ्यालको सिसा फुट्यो । यदि जहाज उडिसकेपछि झ्याल फुटेको भए के हुन्थ्यो होला ।’
लगातारको ढिलाइ र अन्तिम समयमा देखिएको प्राविधिक समस्याका कारण यात्रुहरू आक्रोशित बनेका छन्। उडानमा समस्या देखिँदा यात्रुले भरतपुर पुगेर गर्नुपर्ने महत्वपूर्ण काम प्रभावित भएको पनि बताए ।
यात्रुहरूले बारम्बारको ढिलाइ, कमजोर व्यवस्थापन तथा सुरक्षा जाँचप्रति गम्भीर ध्यान दिन सरोकारवालासँग माग गरेका छन्।
जहाजमा समस्या आएको हुँदा अहिले यात्रुलाई अर्को जहाजबाट भरतपुर पठाएको बुद्ध एयरका दिपेन्द्र कर्णले बताए । ‘ रनवेमा हुँदा जहाजमा समस्या देखिएको होइन, ट्याक्सि वेमा हुँदा देखिएको हो । समस्या के हो भनेर टेक्नीकल टिमले जाँच गर्दै हुनुहुन्छ । समस्या पत्ता लगाएर छिट्टै समाधान गछौँ । ’ कर्णले बताए ।








