पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘पार्किङमा लुटतन्त्र’ भन्दै चौतफी बिरोध


टुरिजम पाना पोखरा । ३० पुष २०७९

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्कमा लुटतन्त्र मच्चाउने गरी शुल्क निर्धारण गरेको भन्दै व्यापक आलोचना भएको छ । मनोज निर्माण सेवाले सार्बजनिक गरेको पार्किङ शुल्क हेर्दा विमानस्थलमा पुग्ने जो कोहिलाई पनि पार्किङ शुल्कले झस्काउने गरेको छ ।

त्यसो त यसरी कायम गरिएको शुल्क नेपाल नागरिक उडड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले समेत स्वीकृत दिएको छ । सार्बजनिक गरिएको शुल्क अनुसार मोटरसाईकल, स्कुटर, रिक्साका लागि प्रतिघण्टा ३०, दिनभर पार्किङ गरे १८०, कार, जिप र टेम्पकोका लागि प्रतिघण्टा ६० र दिनभर पार्किङ गरे ३६० तोकिएको छ । यस्तै हल्का सवारी साधनको लागि प्रतिघण्टा ८०, दिनभर ४ सय ८० र गह्रौ सवारी साधनका लागि प्रतिघण्टा १ सय २० र दिनभरको ७ सय २० तोकिएको छ ।

अचम्म त के छ भने बिमानस्थल पार्किङ एरियामा पार्क गर्दा मात्र नभई पिकअप गर्न जाँदा समेत सेवाग्राहीले चर्को पार्किङ शुल्क तिर्नुपर्ने छ । यस्तै एकै दिनमा पटक पटक एयरपोर्ट पुग्दा समेत उक्त शुल्क तिर्नुपर्ने वाध्यकारी नियम बनाएर समेत शुल्क असुल्ने गरिएको छ । विमानस्थलले पार्किङमा चर्को रकम असुली र गुडिरहेको सवारीबाट समेत पार्किङ उठाउने बिषयले सामाजिक सञ्जालमा व्यापक बिरोध समेत भईरहेको छ ।

सामाजिक सञ्जालमा चर्को आलोचना भईरहेका बेला पोखरा महानगरका प्रमुख धनराज आचार्यले पनि यसबारेमा चासो व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाट्स मार्फत बिमानस्थलमा राखिएको पार्किङ शुल्ककाबारे भईरहेको चासोका सन्दर्भमा ध्यानाकर्षण भएको र आपसी छलफलपछि उचित ब्यबस्थापन गरिने प्रतिक्रिया दिएका छन् ।

३० पुष २०७९