आर्टमा रुची भएका ओम यादव यसरी भए ‘प्रोफेसनल‘ फोटोग्राफर

फोटो खिच्नकै लागि ६ दिनसम्म जंगलको बास


मनिषा पौडेल काठमाडौं । ३० पुष २०७९

वाइल्डलाइफ तथा ट्राभल फोटोग्राफर ओम यादवलाई स्कुल पढ्दादेखि नै चित्रकलामा औधी रुचि थियो । तर उनी विज्ञानका विद्यार्थी थिए । विज्ञान पढे पनि उनलाई आर्ट गर्न भनेपछि असाध्यै रमाउथे ।

चित्र बनाउन उनी काठमाडौंका डाँडाकाँडामा पुगेर क्यानभास राखेर पेन्टिङ पनि गर्थे । कसका बा आमालाई पो रहर नहोला र आफ्ना सन्तानलाई डाक्टर, इन्जिनियर बनाउन् । यस्तै रहर उनका वुवा, आमामा पनि थियो, त्यसैले त ओम आर्टतिर बढी झुकेको मन परेको थिएन् ।

त्यसैले उनी आर्ट सोखले गर्थे । उनलाई यसमै करिअर बनाउ भन्ने थिएन् । त्यसैले उनले आफ्नो कर्म आइटीमा रोजे । सूचना प्रविधिमा काम गर्न थालेपछि उनले कहिलेकाँही रहर लाग्दा मात्रै पेन्टिङ गरे ।

आफ्नो फोटो खिचाउने रहर

उनी कसरी फोटोग्राफर बने भन्ने रमाइलो कथा छ । उनलाई आफूले फोटो खिच्न भन्दा पनि आफ्नो फोटोहरु विभिन्न शैलीमा खिचाउन रमाइलो लाग्थ्यो ।

सिरहाको मिर्चैयामा जन्मिएका ओम यादव सानैदेखि काठमाडौं बसेर पढ्थे । उनले स्कुल पढ्ने बेलामा नै ६८५ रुपैयाँ रिलको क्यामेरा किनेका थिए ।

उनी सम्झिन्छन्, ‘पोज पोजमा फोटो खिचाउँछु भनेर क्यामेरा किनेको थिएँ । साथीहरुको पनि खिचिदिन्थेँ । यही सोखले गर्दा फोटोग्राफर बनेँ ।’

२०५१ सालको कुरा हो, घुम्ने र आफ्नो फोटो खिच्ने रहरले उनी साथीहरुसँग भारतको दक्षिण क्षेत्रको भ्रमणमा निस्के । त्यतिबेलासम्म उनी विभिन्न पोजमा आफ्नो फोटो खिचाउँथे, प्रिन्ट गर्थे र हेर्दै दंग पर्थे ।

इन्डिया जाँदा उनले रिलवाला एसएलआर क्यामेरा लिएर गएका थिए । समुद्रको छेउमा राम्रा राम्रा फोटो खिचेर आउने उनको सपना थियो । तर, त्यहाँ पुगेपछि उनको सपना अन्यत्र मोडियो ।

यादवकै समूहका एक साथीले अमेरिकाको पपुलर म्यागजिन लिएर गएका थिए । उनले त्यहाँ विभिन्न फोटो छापिएको देखे । ३ दिनको रेलयात्रामा उनले त्यो सबै म्यागजिन पढेर सके । त्यसपछि उनलाई अरुको फोटो खिच्न राम्रो हुने रहेछ भन्ने लाग्यो र सोही बेलादेखि फोटो खिच्न थाले ।

काठमाडौं फर्किए लगत्तै उनी दुई वर्षसम्म उक्त म्यागजिनको ग्राहक बने । त्यसपछि उनले फोटोग्राफी सिके र इभेन्ट फोटोग्राफी गर्न थाले ।

सन् १९९८ देखि यादवले प्रोफेसन काम गर्न सुरु गरे । अफिसका कार्यक्रम, विवाह, ब्रतबन्ध लगायतका उत्सवमा उनी फोटो खिच्थे । इभेन्ट फोटोग्राफी गरिरहँदा उनलाई धेरै थरी मानिससँग अनेक अन्र्तक्रिया गर्न मन परेन । इभेन्टबाट दुरी बढाउँदै लगे र उनले नेचर, वाइल्डलाइफ र ट्राभल फोटोग्राफी गर्न सुरु गरे ।

उनले नेचर फोटोग्राफी सुरु गरेको भने सन् २००६ देखि हो । वन्यजन्तु, चराचुरुङ्गीको फोटो खिच्दा उनलाई आनन्द लाग्न थाल्यो । मानिसहरुसँग घुलमिल हुन नपर्ने भएकाले पनि उनी यसैमा रमाइलो मान्थे । उनको वाइल्ड लाइफ फोटोग्राफी प्यासन र ट्राभल फोटोग्राफी प्रोफेसनको रुपमा बढ्दै गयो ।

त्यसपछि उनी क्रमशः पोखरा, मुस्ताङतिर फोटो खिच्न जान थाले । त्यतिबेला सम्मपनि पेशागत रुपमा उनी आइटीमै संलग्न थिए ।

वाइल्ड लाइफ र नेचरमा उनको प्यासन यसरी बढ्दै गयो कि अफिसमा पनि लन्च ब्रेकमा फोटो खिच्थे । उनी सम्झिन्छन्, ‘अहिलेजस्तो जताततै घर बनिसकेका थिएनन । ट्वाइलेट जाँदा पनि क्यामेरा बोकेर जान्थँे । ट्वाइलेट पछाडि झाडी थियो । झाडीमा चराहरु हुन्थे । ट्वाइलेटको झ्यालबाट चराको फोटो खिच्थे ।’

त्यहीँबाट उनले पर्पल सनबर्ड, कमनग्रिन फिन्च चराहरुको फोटो खिचे, बगैँचा, झाडीमा पाइने किरा फट्यांग्राका फोटो खिचे । रहरलाई पछ्याउँदै हिँडेका यादव त्यही बेला खिचेको फोटोले सन् २००५ मा नेचर फोटोग्राफी कन्टेस्टमा पहिलो भए ।

अनि बने पूर्णकालीन फोटोग्राफर

यादव सन् २०११ सालदेखि यता पूर्णकालीन फोटोग्राफरका रुपमा फोटो खिचिरहेका छन् । यो अवधिमा उनले थुप्रै गन्तव्य, कला संस्कृति, वन्यजन्तुका तस्बिर खिचेका छन् ।

उनले नेपाल पर्यटन बोर्डका लागि पनि धेरै फोटो खिचेका छन् । भिजिट नेपाल २०११ मा र २०२० मा प्रयोग भएका अधिकांश फोटो यादवले नै खिचेका हुन् ।

अहिले यादव ट्राभल, नेचर र वाइल्ड लाइफ बाहेक कर्मसियल फोटो सुट पनि गर्छन् । ओम यादवले आफू मात्रै फोटोकारिता गरिरहेका छैनन्, उनीजस्तै फोटोग्राफर बन्न चाहने धेरैलाई सिकाइ रहेका पनि छन् । कुपण्डोलमा यादवको फोटो वाक स्टुडियो छ । उनले त्यहीबाट तालिम, प्रशिक्षण दिने पनि गर्छन् ।

यस बाहेक महिनाको दुई शनिबार बिहानमाउनले फोटोवाक मार्फत् फोटो खिच्न सिकाउँदै आएका छन् । फोटो वाक सुरु भएको सन् २००७ देखि हो ।

फोटोवाक सुरु गर्नुको उनको उद्देश्यलाई यादव यसरी व्याख्या गर्छन्, ‘हामी एक अर्कासँग मिलेर गयो, भने सबैअगाडि जान सकिन्छ, तर प्रतिस्पर्धा गरेर जाँदा तानातान हुनाले त्यही अड्किन्छ । नेपालमा कल्चरल ड्रब्याकको प्रवृत्ति छ । सबैलाई आफुमात्रै अगाडि बढौं भन्ने भावना छ । नेपालमा क्षमतावान व्यक्तिको कमी छैन तर विकास हुन दिने संस्कार नै छैन । त्यसैले पनि मैले फोटोवाक सुरु गरेको हुँ ।’

फोटो खिच्नकै लागि ६ दिनसम्म जंगलमा

वाइल्डलाइफ र ट्राभलमा रमाउने यादव सन् २०१८ को अप्रिलमा भारतको बान्धवगढ राष्ट्रिय निकुञ्ज पुगेका थिए । त्यो उनको एक साताको यात्राथियो । बान्धवगढ मरुभूमि जस्तै छ । नेपालको जस्तो झाडी, बुट्यान नहुने भएकाले १ किलोमिटर टाढैबाट बाघ देख्न पाइन्छ ।

उनले ६ दिन सम्म लगातार जंगल गएर १२ वटा बाघको फोटो खिचे । यही वेला उनले बाघ, बघिनी र डमरुसँगै बसेको दुर्लभ तस्वीर खिचे । प्रायः बाघ परिवारसँग बस्दैन तर त्यहाँउनले बाघले शिकार गरेर बच्चालाई खुवाउँदै गरेको दृश्य उनले क्यामेरामा कैद गरे ।

‘वाइल्ड लाइफको फोटो खिच्न जाँदा कहिलेकाँही अब त सक्कियो भन्ने जस्तो पनि हुन्छ’, उनी भन्छन्, ‘चुनौतीपूर्ण भनिएपनि त्यति गाह्रो हुँदैन, जनावरलाई कुरेर बस्न गाह्रै हुन्छ, सावधानी अपनाउनु पर्छ, मेहेनत त जुन काममा पनि गर्नैपर्छ नि ।’

उनले खिचेका थप केहि फोटोहरु :

३० पुष २०७९