टोखाबाट वार्षिक चार करोडको चाकु बिक्री, ब्राण्डिङ गर्ने नगरपालिकाको योजना


टुरिजम पाना काठमाडौं । ३० पुष २०७९

काठमाडौँको उत्तरी क्षेत्र टोखा बजारका चाकु व्यवसायीलाई चाकु बनाउन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको छ । अघिपछि फुर्सदिला हुने टोखाका चाकु व्यवसायीलाई माघे सङ्क्रान्ति पर्व आउनै लाग्दा सञ्चालित १४ उद्योगबाट चाकु उत्पादन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको हो ।

टोखा नगरपालिका वडा नं २ र ३ मा अहिले चाकु उत्पादन तथा बिक्री वितरण हुँदै आएको छ । यो टोखाको पुरानो बजारसमेत हो । टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्री हुँदै आएको छ । टोखामा उत्पादन हुने चाकुले नेपालको झण्डै ६० प्रतिशतभन्दा बढी मागको पूर्ति गर्दछ ।

टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ यहाँ उत्पादित चाकु जापान, अमेरिका र अष्ट्रेलियालगायतका देशमा समेत बिक्री वितरण हुँदै आएको बताउछन् । टोखामा बर्सेनि झण्डै पाँच लाख चाकु उत्पादन हुने गर्दछ । टोखा चाकुको प्रसिद्ध सहर हो । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखु खेती हुने ठाउँका रुपमा चिनिन्छ । परम्परागत समयदेखि उखुबाट चाकु उत्पादन गरिने टोखामा उक्त व्यवसायलाई अहिलेसम्म पनि निरन्तरता दिइँदै आएको छ ।

टोखाका उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन हुँदै आएका छन् । टोखामा उत्पादन भएको चाकु नेपालका विभिन्न सहरमा जाने भएकाले यसको माग व्यापक बढेको छ ।

टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष श्रेष्ठ टोखाका सञ्चालित उद्योगले वार्षिक चाकु र उखुबाट बन्ने परिकार बिक्रीबाट करोेडौँ रुपैँया आम्दानी गर्छन् । उनका अनुसार टोखाको एक उद्योगले वार्षिक रु ३० लाखसम्म आम्दानी गर्छ । टोखाका १४ उद्योगले वार्षिक ३० लाखका दरले झण्डै रु चार करोडभन्दा बढी रकम आम्दानी गर्दा टोखाको समग्र अर्थतन्त्रमा समेत योगदान पुगेको छ ।

टोखा नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँ उत्पादन भएको चाकुलाई ब्राण्डिङ गर्ने घोषणा गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठक टोखाको पहिचान चाकुले दिएकाले यसको ब्राण्डिङका लागि नगरपालिकाले विशेष योजना अगाडि सारेको बताउछन् । “टोखामा उत्पादित चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिका प्रतिबद्ध छ”, उनी भन्छन् ।

टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो रु एक सय ३० देखि रु एक सय ३५ सम्म बिक्री हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि खाने चलन छ ।

चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ । यस्तै माघे सङ्क्रान्तिमा चाकुबाहेक सख्खर, तरुललगायतका खानेकुरा समेत खाने प्रचलन रहेको छ ।

३० पुष २०७९