पुरानै स्वरूपमा बनाइएकाे ‘लक्ष्मीनारायण धर्मशाला’मा हेर्नेकाे भिड


टुरिजम पाना पाल्पा । ४ पुष २०७९
laxminarayan dharmashala palpa

कुनै समय पुनः निर्माण हुन नसकेर ओझेलमा परेको लक्ष्मीनारायण धर्मशाला यतिबेला सबैको रोजाइमा पर्न थालेको छ ।

अहिले यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन् । जीर्ण अवस्थामा रहेको सो धर्मशालालाई पुरानै शैलीमा पुनःनिर्माण गरिएपछि सबैलाई लोभ्याएको छ ।

कलात्मक शैलीमा पुरानै स्वरुपमा बनाइएको धर्मशाला यतिबेला सामाजिक सञ्जाल, टिकटक, फेसबुकमा चर्चा बढ्दै गएको छ । आकर्षक बुट्टा भरेर चिटिक्क परेको धर्मशाला साथीहरुसँग अवलोकन गर्दै टिकटक बनाउन, फोटो तथा भिडियो खिच्न आएको कृष्णकला श्रेष्ठले बताइन् ।

‘हेर्दै आकर्षक खालको धर्मशाला बनेको छ, पुराना काष्ठकलाको प्रयोग गरिएको हुँदा यसले सबैलाई लोभ्याएको छ, रामपुरमा परम्परागत शैलीमा सबैलाई आकर्षित बनाउने संरचना तयार भएको छ’, उनले भनिन् ।

रामपुर नगरपालिका-४ स्थित खोप्टारमा रहेको धर्मशाला हालसालै पुनः निर्माणको संरचना तयार भएपछि अवलोकन गर्नकै निम्ति आन्तरिक पर्यटक पुग्दछन् । यहाँ विवाहको बेहुला बेहुली फोटो तथा भिडियो कैद गर्न आउने गरेको स्थानीय जयन्ती घिमिरे बताउँछन् । विहान उज्यालो भएदेखि राति अबेरसम्म धर्मशालामा आउने जाने क्रम चलिरहेको घिमिरेले बताए ।

कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धर्मशालामा २०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो । त्यसको पौराणिक अस्तित्व बचाइ राख्न पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो ।

लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला (गुठी) का रुपमा सञ्चालन हुँदै आएको थियो । पुरातत्व विभागको विशेष पहलमा करिब रु तीन करोड छ लाख ५३ हजारको लागतमा पुनः निर्माण गरिएको छ ।

पुरानो धर्मशाला भुइँतलासहित तीनतले छ कोठा, दायाँ र बायाँ एक/एक वटा बालापालीको थियो भने छानो झिँगटीको थियो । पहिला झिँगटीले छाइएको थियो भने अहिले लामो समयसम्म झिँगटीले काम नगर्ने भएपछि जस्तापाताले छाइएको छ । चन्द्रमा, सूर्य आकारका विभिन्न बुट्टाले भरिएका छन् । सुर्की, इँटा, ढुङ्गा, काठले तयार पारिएको छ ।

श्री धर्म एस निर्माण सेवा प्रालिले २०७८ असार १६ गते ठेक्का सम्झौता गरी भदौदेखि निर्माण कार्य सुरु गरेको हो । विसं २०८० असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै काम सकेको छ ।

संरचना निर्माणको काम सम्पन्न भएपछि अहिले अवलोकन गर्न आउनेको दैनिक भीड लागेको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउँछन् ।

अध्यक्ष रेग्मीका अनुसार धर्मशालाको रङरोगनको काम बाँकी रहेकाले सो काम नसक्दासम्म अवलोकनमा निःशुल्क व्यवस्था गरिएको छ भने आउँदो पुस ११ गतेपछि केही शुल्क कायम गरेर अवलोकन गर्ने प्रबन्ध मिलाइनेछ । रामपुरलाई चिनाउने धर्मशालालाई संरक्षण गर्दै पूरानै शैलीमा तयार पारिएको हुदा सबै उमेर समूहलाई आकर्षित बनाइरहेको छ ।

करिब एक रोपनी क्षेत्रफलमा धर्मशाला निर्माण गरिएको छ । यहाँ शौचालय, चारैतिर पर्खाल लगाउने काम बाँकी छ । यस धर्मशालालाई पार्टी भवनका नामले बढी चिनिन्छ । सो सम्पदा विसं १८८९ भन्दा अघि निर्माण भएको ताम्रपत्रमा उल्लेख छ । यहीँ पार्टी भवनअर्थात् धर्मशालामा विसं २०२५ मा स्थापना भएको रामतुलसी मावि आठ महिना सञ्चालन भएको बुढापाका बताउँछन् ।

विसं १८७९ मा साविक रामपुर गाविस–८ का समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गरेका थिए । तत्कालीन समयमा यस क्षेत्रमा भित्रिने विशिष्ट व्यक्तिको स्वागत, बसोबास र धर्मशालाका रुपमा गुठी निर्माण गरिएको हो । तत्कालीन समयमा बाटोमा हिँड्दा बटुवाका लागि बाँस बस्ने प्रयोजनका लागि गुठीको निर्माण गरी सोहीअन्तर्गत धर्मशाला बनाइएको थियो ।

गाउँघरमा पछिल्ला समय पुराना धार्मिक सम्पदा मास्ने क्रम बढिरहेको छ । आधुनिक खालका भवन धमाधम बन्दैछन् । ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्था छ । ऐतिहासिकता झल्काउने धार्मिक सम्पदा अस्तित्व नै नरहने गरी विभिन्न ठाउँठाउँमा हटाउन थालिएको छ । रामपुरमा भने पुराना धार्मिक सम्पदालाई जोगाउन धेरै रकम खर्चिएर पुरानैस्वरुप दिइएको छ ।

४ पुष २०७९