सुर्खेत विमानस्थलमा आईएफआर प्रविधि सञ्चालनमा ल्याउन बुद्ध एयरको माग


buddha air flight
फाइल तस्वीर

बुद्ध एयरले सुर्खेत विमानस्थलमा थप सुविधा थप्न प्रदेश सरकारसँग माग गरेको छ । सोमबार कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो विमानस्थलमा सुविधा थप्न माग गरेको हो ।

भीएफआर प्रविधिमार्फत उडान हुँदै आएको सो विमानस्थलमा कम्पनीले आईएफआर प्रविधि जडान गर्नुपर्ने बताएको हो । भीएफआर प्रविधि मात्रै सञ्चालनमा रहँदा मौसम प्रतिकुल र ढिला हुँदा उडान रद्द हुने सम्भावना उत्तिकै प्रवल रहने भन्दै कम्पनीले आईएफआर प्रविधि जडान भएमा उडान भर्न सहज हुने बताएको हो ।

कम्पनीले भनेको छ,’देशका अन्य विमानस्थलमाजस्तै सुर्खेतमा पनि आईएफआर प्रविधि जडान भएमा उडान भर्न सजिलो हुनेछ । आईएफआर प्रविधिमा कम भिजिविलिटीमा पनि उडान भर्न सकिन्छ ।’

आईएफआर प्रविधि जडान भएमा साँझ राती पनि उडान भर्न मिल्ने हुँदा यात्रुलाई आफ्नो समय अनुकुल आउजाउ गर्न थप सहज हुने कम्पनीको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ,’आईएफआर प्रविधि र सुर्खेत विमानस्थललाई यात्रुमैत्री बनाउनका लागि नागरिक उड्डयन प्राधिकरण तदारुकताका साथ लागेको छ, यसमा प्रदेश तथा संघीय सरकारले पनि प्रभावकारी भूमिका निर्वाह गर्नका लागि बुध्द एयरले हार्दिक अनुरोध गरेको छ ।’

सो विमानस्थलमा कम्पनीले एटीआर ७२ जहाजबाट उडान भर्दै आइरहेको छ । ठूलो जहाजबाट उडान भर्दा भाडादर पनि थप सहज र सरल भएको कम्पनीले जनाएको छ । यात्रुहरुको माग र अनुरोधलाई ध्यानमा राखी बुध्द एयरले २१ डिसेम्बरबाट अर्को उडान पनि भर्ने जनाएको छ ।

४ पुष २०७९