छठका लागि सजाइयो नारायणी किनार


रासस चितवन । १३ कार्तिक २०७९
chhatha parva

नारायणी नदीको पुलको पूर्वी क्षेत्र झकिझकाउ गरिएको छ । छठ पर्वका लागि पण्डाल टाँगेर नदी किनार सजाइएको छ । सधैँजसो घुमघामका लागि आउने, नारायणी नदी किनारमा आएर रमाउने भन्दा छुट्टै रौनक यहाँ देख्न सकिन्छ ।

अखण्ड दिप, सूर्य देवको प्रतिमा राखेर पूजाको तयारी गरिएको छ । तराई सामुदायिक सेवा समितिका सचिब नारद परिहस्तले बालबालिकाका लागि खेल मैदानसमेत छट्टै बनाइएको बताए ।

तराई समुदायले मात्रै मनाउँदै आएको यो पर्वमा पहाडी समुदायको समेत आकर्षण बढ्दै गएपछि भक्तजनको चापलाई मध्यनजर गर्दै नारायणी नदीमा नुहाउन र अर्क चढाउनका लागि रेखाङ्कन गरिएको छ ।

छठमा पछिल्लो समय पहाडी समुदायको समेत सहभागिता बढ्दो क्रममा छ । उनले भने, पहाडी समुदायको समेत सहभागिता दुई चरणबाट हुने गरेको छ ।” व्रत बस्नै आउनेको सङ्ख्यासमेत बर्सेनि बढ्दो छ । व्रत नबसेर सूर्यलाई अर्क चढाउन आउनेको सङ्ख्या पनि उल्लेख्य छ ।

यो वर्ष पाँचदेखि आठ हजार भक्तजन नारायणी नदी किनारमा आएर पूजापाठ गर्ने अनुमान गरिएको छ । तराई सामुदायिक सेवा समिति चितवनले हरेक वर्ष नारायणी नदी किनारमा छठपर्व मनाउँदै आएकामा यसवर्ष चितवनको विभिन्न स्थानमा हुँदै छ ।

जिल्लाको टाँडी, पर्सा, खुरखुरे, पदमपुर, माडी लगायतका स्थानमा नदी, पोखरी, तलाउमा यो पर्वलाई धूमधामसँग मनाउने गरिएको समितिका पूर्व अध्यक्ष राजकुमार मानुले बर्ताए ।

नदी किनार तथा जलाशय छेउमा यो पर्व मनाउने गरिन्छ । भाइटिकाको भोलिपल्ट अर्थात चौँठीदेखि छठ पर्वको व्रत प्रारम्भ हुने उनले बताए । पहिलो दिन नुहाएर चोखा खानेकुरा खाने, पञ्चमीको दिन साँझ एक छाक खाने र छठको दिन निराहार व्रत बसी साँझ अस्ताउँदो सूर्य र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा समापन गरिने उनको भनाइ छ ।

विगत ५० वर्षदेखि नारायणी नदी किनारमा छठ पर्वको पूजा हुँदै आएको समितिका अध्यक्ष जयकिशोर पाण्डेले बताए । पाण्डेका अनुसार अहिले भक्तजनको चाप बढ्दै गएको छ । पूजा व्यवस्थापनका लागि निकै मेहनत गर्नुपरेको उनको भनाइ छ ।

१३ कार्तिक २०७९