आकर्षक रुपमा सजिए राजधानीका छठघाट


रासस काठमाडाैं । १३ कार्तिक २०७९
chhatha parva

पशुपति क्षेत्रको गुह्येश्वरी गौरीघाट बाग्मती नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक रुपमा सजावट गरी राखिएको छ ।

छठपर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठघाट पनि सजाइएको हो । प्रत्येक वर्ष छठपर्वका अवसरमा गुह्येश्वरी गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भिड लागेको छ ।

यसवर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, विभिन्न स्थानका नख्खु खोला र विष्णुमती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठघाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरिएको छ । जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिन्छ ।

गुह्येश्वरीमा यसवर्ष विगतभन्दा बढी छठघाटको निर्माण गरिएको छ । विगतमा करिब ५०० छठघाट निर्माण गरिएकामा यसवर्ष ६०० भन्दा बढी बनाइएको छ । आज बिहानसम्म ५०० वटा छठघाट भक्तजनले रसिद काटेर लिइसकेका छन् । एउटा छठघाट एक हजार ५०० शुल्क लिएर भक्तजनलाई दिएको छठपूजा समितिका अध्यक्ष अनिल सिंहले राससलाई जानकारी दिए ।

गुह्येश्वरी क्षेत्रमा छठपूजाका लागि बिहानैदेखि भक्तजनको भिड बढ्न थालेको छ । यहाँ करिब ६०० व्रतालु, तिनका परिवार एवम् अन्य दर्शन गर्ने र हेर्ने गरी करिब तीन लाख भक्तजन आउने अनुमान समितिले गरेको छ ।

२० वर्षअघिसम्म राजधानीमा हुने छठ पूजामा तराई क्षेत्रका सीमित मानिसको मात्र सहभागिता हुने गरेको थियो । अहिले तराई क्षेत्रबाट राजधानी आई बस्ने अधिकांश मानिसका साथै पहाडी समूदाय पनि छठपर्व मनाउने गरेका छन् ।

जनकपुरकी रञ्जु श्रेष्ठ विगत २५ वर्षअघिदेखि नै छठ मनाउने गरेको बताउँछिन् । सुरुमा जनकपुरबाट छठ मनाउन सुरु गरेकी श्रेष्ठले हाल गुह्येश्वरीमै सूर्यको पूजाआराधना गरी पर्व मनाउने गरेकी छिन् । आफू पहाडबाट जनकपुर झरे पनि आफूले अपनाइ आएको संस्कारसँग मिल्ने भएकाले छठ मनाउन थालेको उनले सुनाइन् ।

छठपर्वका लागि गुह्येश्वरी गौरीघाट क्षेत्र अहिले बेहुलीझैं सिँगारिएको छ । नदीको बीचमा छठी माताको माटाको मूर्ति स्थापना गरिएको छ । आज राष्ट्रपतिले यो मूर्तिसँगै सूर्यको पूजा आराधना गरी अघ्र्य दिने कार्यक्रम रहेको पूजामा खटिएका नवोनाथ झाले बताए ।

आज बेलुकी र भोलि बिहान पूजा गरेपछि यो मूर्तिलाई बाग्मती नदीमै बगाएर सेलाइने पनि उनले सुनाए । छठ पूजास्थलमा उखुको लाँक्रा, केराको घरी र केराको बोट बोकेर हिँडेका भक्तजनको भिड देखिन्छ । छठ पूजास्थल वरपर व्यापार व्यवसाय गर्नेको भिड पनि देखिन थालेपछि काठमाडौँ महानगरपालिकाले पसल नराख्न यस क्षेत्रमा माइकिङ गरिरहेको छ ।

कमलपोखरीमा पानीको फोहरासहित आकर्षक सजावट

यसैगरी कमलपोखरी क्षेत्रलाई पनि बेहुलीझैँ सिँगारेर अस्ताउँदो सूर्यसहित छठ माताको पूजा आराधनाको तयारी गरिएको छ । कमलपोखरीमा सजावटका साथै बीचमा राखिएको छठी माता र पानीको फोहरा आकर्षणको केन्द्र बनेको छ ।

कमलपोखरीमा एक सय ७५ जना व्रतालुले पूजा गर्न छठघाट निर्माण गरिएको छ । कमलपोखरीमा भने छोटो औपचारिक कार्यक्रम पनि गर्न लागिएको छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिए ।

यहाँ छठ पूजा सम्पन्न गर्न सहयोग गर्नेलाई सम्मान गरिनुका साथै राष्ट्रपति, पूर्व सांसद, काठमाडौँ महानगरपालिकाका प्रमुखलगायतले मन्तव्य व्यक्त गर्ने कार्यक्रमसमेत छ ।

चार दिनसम्म मनाइने छठपर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिइन्छ । यसका लागि शनिबारदेखि नै नीराहार व्रत बसेका व्रतालुले आज रातभर छठपूजास्थलमा जाग्राम बसी उदाउँदो सूर्यको प्रतिक्षा गर्ने गरेको हेटौँडाबाट पर्व मनाउन आएका पवन अग्रवाल बताउँछन् । सोमबार बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठपर्व समापन हुन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवम् छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्यदान गरेमा मनले चिताएको पूरा हुने सूर्य पुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एकवर्षे अज्ञातबास सफल भएको उल्लेख छ ।

१३ कार्तिक २०७९