स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ तालिम हुँदैं, नेपालीलाई बिशेष छुट


सोनी शाही स्याङ्जा । ३० पुष २०७९

द बाबु एडभेन्चर इन्टरनेसनल प्याराग्लाइडिङ स्कूल स्वरेक स्याङ्जाले आगामी जनवरी १६ (माघ २ गते) बाट प्याराग्लाइडिङ तालिम सञ्चालन गर्ने भएको छ ।

विगत ९ बर्षदेखि स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ स्कुल सञ्चालन गरिरहेको बाबु एडभेन्चरले बेसिक लेबलको प्याराग्लाइडिङ तालिम दिन लागेको हो । प्याराग्लाइडिङबारे जानकारी नै नभएका तर, आकाशमा उड्न चाहनेहरुका लागि तालिम सञ्चालन गर्न लागिएको कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले टुरिजमपानालाई बताए ।

आकाशमा उड्न रहर लागेका तर केही जानकारी नभएकाहरु पनि यो तालिममा सहभागी बन्न सक्ने उनले बताए । नेपाल डाडाँ काडा भएको देश भएको र साहसिक हवाई पर्यटन प्याराग्लाइडिङ आफ्नो गाउँ ठाउँको पनि प्रचार प्रसारका लागि पनि महत्वपूर्ण रहेको सुनुवारको भनाइ छ ।

१५ दिनका लागि तोकिएको यो कोर्स सक्नका लागि मौसम अनुसार १२ देखि १८ दिनसम्म लाग्ने सुनुवारले बताए । यसअघि स्कूलले विभिन्न चरणमा ११ भन्दा बढी सेसनमा तालिम दिईसकेको छ ।

यसरी तालिममा सहभागी हुन आउने विद्यार्थीहरुलाई सुनुवारसहित बाबु एडभेन्चर इन्टरनेसनल प्याराग्लाइडिङ स्कूलका प्रशिक्षकले उडान तालिम दिने छन् ।

कति लाग्छ शुल्क ?

करिब १५ दिन अवधिको तालिमका लागि नेपाल सरकारले २ लाख ९५ हजारको लागि मान्यता दिएको छ । तर, यस स्कूलमा जम्मा १ लाख ८० हजारमै तालिम लिन पाईने छ । साहसिक हवाई पर्यटन त्यसमा पनि प्याराग्लाइडिङमा नेपाली विद्यार्थीहरुलाई आकर्षित गर्नका लागि आफूहरुले बिशेष छुटमा तालिम सञ्चालन गर्न लागेको सुनुवार बताउँछन् ।

यसरी विद्यार्थीले तिर्ने शुल्कमा तालिम अवधिभरको सामान्य खानपान, बसाई र उडानका लागि चाहिने सम्पूर्ण सामाग्रीहरु उपलब्ध गराईने छ । तालिमका लागि सोधखोज गर्नेको संख्या धेरै भएतापनि हालसम्म ५ जनाले बुकिङ नै गरिसकेको र तालिम सञ्चालन हुँदासम्म त्यो संख्या वढ्ने स्कूलको अपेक्षा छ ।

व्यवसायिक उडानका लागि १८ महिने कोर्स

यसरी १५ दिने तालिम सम्पन्न पश्चात आफू सिङ्गल मात्र आकाशमा उड्ने रहर पुरा हुने छ । तर व्यवसायिक उडान भर्नका लागि भने विभिन्न चरणमा तालिमहरु लिनुपर्दछ ।

नेपाल सरकारको नियम अनुसार विभिन्न चरणमा गरी कम्तीमा १८ महिने तालिम पुरा गरिसकेपछि मात्र व्यवसायिक उडान भर्न पाइन्छ ।

(थप जानकारी र तालिमका लागि सम्पर्क ९८५६०१४०९९)

३० पुष २०७९