पर्यटन विकास र ऐतिहासिक धरोहरको संरक्षणका लागि नेपाली सेनाले पदयात्रा गर्ने


टुरिजम पाना गोरखा । २७ मंसिर २०७९

ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धनका साथै पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले आउँदो पुस २१ गतेदेखि एकीकरण पदमार्गमा पदयात्रा गर्ने भएको छ ।

गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा नेपाली सेनाको रिपुमर्दन गणले एकीकरण पदयात्राको आयोजना गर्न लागेको हो । पदयात्रामा नेपाली सेनाका ४० जना सहभागी हुनेछन् । गोरखादेखि सुरु भएको पदयात्रा पुस २७ गते पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका दिन हनुमान ढोका दरबारमा पुगेर टुङ्गिने गणपति हेम विष्टले बताए ।

बिगतका बर्षहरुमा गर्दै आएको पदयात्रा यसपटक चौथो पटक गर्न लागिएको हो । राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर फूलको माला लगाएर नेपाली सेनाको एक टोली गोरखा दरबार स्थित हनुमान भञ्ज्याङबाट पुस २१ गते हिड्ने छ ।

गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट (घाटबेसी) सम्म गोरखाबाट हिँडेको टोली पुग्नेछ । गोरखाबाट हिँडेको टोलीले भिमसेन ८ घाटबेसीमा धादिङको शिवदल गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्नेछन् ।

धादिङको टोलीले नुवाकोटको जवरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली पुस २७ मा काठमाडौं पुग्नेछ । पुस २१ गते गोरखाबाट यसअघि जस्तै भब्य रुपमा पदयात्रा सुरु गर्ने गोरखा नगरपालिका, भिमसेन थापा गाउँपालिका र नेपाली सेना रिपुमर्दन गणको तयारी छ ।

२७ मंसिर २०७९