पर्यटक सवारी व्यवस्थापनका लागि पर्यटक प्रहरीले बनायो समिति


टुरिजम पाना काठमाडौ । २७ मंसिर २०७९

पर्यटक सवारी व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि पर्यटक प्रहरीले सहजीकरण गर्नका लागि समिति गठन गरेको छ ।

पर्यटकहरुलाई सहज ढंगवाट यात्रा गर्न र पर्यटक बोक्ने सवारीहरुलाई व्यवस्थित गर्न पर्यटक प्रहरी भृकुटीमण्डपले पर्यटक प्रहरीका प्रहरी निरीक्षक चन्द्र किशोर शाहको नेतृत्वमा समिति गठन गरेको हो ।

यसका लागि प्रथम चरणमा प्रहरी निरीक्षक शाहको नेतृत्वले पर्यटकहरूको अत्याधिक प्रवाह रहने ठमेल, बौद्ध, पशुपति क्षेत्रका जिम्मेवारी लिएका ईन्चार्जहरु सम्मिलित समिति गठन गरेर कार्य शुरूवात गर्ने छ ।

यस्तै, नेपाल पर्यटक यातायात व्यवसायी संघसँग समन्वय एवं छलफल गरी देखा परेका समस्यालाई के कसरी स‌माधान गर्ने भन्ने सम्बन्धमा छलफल एवं अन्तरक्रिया भइरहेको पर्यटक प्रहरीले जनाएको छ ।

उपत्यकाको ट्राफिक जाम भयावह भएको अवस्थामा यस्ता पर्यटक सवारीहरुले भोगेका समस्या समाधान हुने विश्वास लिएको छ । हरियो प्लेटमा सेतो अक्षर र अंक सहितको नम्बर प्लेट भएको सवारी साधन पर्यटक सवारी हो ।

२७ मंसिर २०७९