विवाह पञ्चमी महामहोत्सव : मटकोर विधि सम्पन्न

मधेश प्रदेशमा सार्वजनिक बिदा


टुरिजम पाना जनकपुर । ११ मंसिर २०७९
Wedding Panchami Mahamahotsav Matkar

जनकपुरधाममा जारी रहेको सीताराम विवाह पञ्चमी महामहोत्सवको पाँचौँ दिन आज मटकोर विधि सम्पन्न भएको छ । जानकी मन्दिरबाट माता जानकीको स्वरूपलाई कलात्मक रथमा राखेर नेपाली सेनाको ब्यान्ड र अन्य बाजागाजासहित सुरक्षाकर्मीको सुरक्षा घेरामा जनकपुरधामको प्रसिद्ध गङ्गासागरमा माटो खन्ने गरिन्छ । जसलाई मटकोर विधि भनिन्छ ।

गङ्गासागरमा आयोजना हुने मटकोर विधिमा सहभागी हुन जानकी मन्दिरबाट साधु सन्त, महन्थ, योगी, सन्यासी, भिक्षुभिक्षुणी तथा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता रहेको थियो । मटकोर विधिका क्रममा आज ‘सेभ हिस्टोरिकल जनकपुरधाम’ले गङ्गा आरतीको आयोजना गरेको थियो ।

सो अवसरमा महिलाले विभिन्न प्रकारका परम्परागत सांस्कृतिक गीतहरू गाएका थिए । मटकोर विधि हेर्न गङ्गासागर क्षेत्रमा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता थियो । मटकोर विधिबाट उत्खनन् गरेर ल्याएको माटोलाई जानकी मन्दिरमा निर्माण गरिने विवाहको मण्डपमा बनाइने विवाहको बेदीमा प्रयोग गरिने चलन छ ।

Wedding Panchami Mahamahotsav Matkar

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवअन्तर्गत सोमबार दिउँसो स्वयंम्बर तथा राति जानकी मन्दिरको परिसरमा निर्माण भएको विवाह मण्डपमा प्रतिकात्मक विवाह हुनेछ । सप्ताहव्यापी विवाह पञ्चमीअन्तर्गत यही मङ्सिर १३ गते रामकलेवा रहेको छ । रामकलेवामा भारतबाट आएका जन्ती तथा सरियातीहरूलाई राखेर प्रसादको रुपमा भोजन गराउने चलन रहेको र सोही दिन जन्तीलाई बिदाइ गर्ने चलन छ ।

विवाह पञ्चमी मधेश प्रदेशमा सार्वजनिक बिदा

सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहेको बताए ।

सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाह पञ्चमीको सोमबार मुख्य दिन रहेकाले प्रदेश सरकारले विगत वर्ष जस्तै बिदा दिएको हो । जनकपुरधामको निजी तथा सामुदायिक विद्यालयमा आजदेखि तीन दिनका लागि बिदा दिइएको छ ।

सीताराम विवाह पञ्चमी महामहोत्सवमा आउने तीर्थयात्रीहरूको बासको तथा भीडलाई ध्यानमा राखेर विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको हो । खास गरेर नेपाल तथा भारतको विभिन्न भूभागबाट ठूलो सङ्ख्यामा तीर्थयात्रीहरू जनकपुरधाम आउने क्रम विगत दुई दिनदेखि जारी छ । (रासस)

 

११ मंसिर २०७९