थानीमाई मन्दिरमा माघमा भित्रियो एक सय २० डोली


कृष्णचन्द्र न्यौपाने दमौली । १८ माघ २०७९
फाइल फोटो

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रे बजारदेखि भानुको भन्सार हुँदै वसन्तपुर पुगिन्छ । राजमार्गबाट नजिकै रहेको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिरमा फूलको डोली लिएर हजारौं भक्तजन पुग्छन् ।

भक्तजनहरू फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले वसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ ।

थानीमाई मन्दिर धार्मिक आस्थाको केन्द्रविन्दुको रुपमा विकसित हुन थालेको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

यहाँ तनहुँका अलवा चितवन, गोरखा, लमजुङ, नवलपुर, काठमाडौं लगायतका जिल्लाबाट भक्तजन यहाँ आउने गरेको थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए ।

उनले भने, ‘थानीमाईमा पूजाअर्चना गरे मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ, त्यही कारण यो ठाउँ धार्मिक आस्थाको केन्द्रको रुपमा विकास भइरहेको छ ।’

प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाइ छ ।

सोमबार सत्यनारायणको पूजा गरि फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ ।

थानीमाई मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघ महिनामा समेत भक्तजनको भीड लाग्ने गरेको छ । मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्कीका अलवा चितवन, नवलपरासी र काठमाडौंबाट भक्तजन आउने गरेका छन् । मन्दिरमा साउन महिना, एकादशी र औंशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

उक्त मन्दिरमा मङ्सिर महिनाको मङ्गलबार एक सय ९१ फूलको डोली भित्रिएको छ । पहिलो मङ्गलबार शुक्रअन्न परेका कारण फूलको डोली भित्रिएको थिएन ।

माघको मङ्गलबार थानीमाईमा एक सय २० फूलको डोली भित्रिएको छ । पहिलो मङ्गलबार ३४, दोस्रो मङ्गलबार ४७ र तेस्रो मङ्गलबार ३९ फूलको डोली भित्रिएको छ । फूलको डोली भित्र्याउन यहाँ हजारौं भक्तजन आउने गरेका छन् ।

पछिल्ला वर्षहरूमा थानीमाई जाने नयाँ सडकसमेत खुलेका छन् । सडक खुलेपछि भक्तजनहरूको सङ्ख्या बढ्न थालेको थापाले बताउनुभयो । भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ ।

त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ ।

समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाईमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ ।

विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु ६ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुर्ननिर्माण गरिएको थियो ।

विसं १८२५ सालबाट यस मन्दिरमा पूजाअर्चना शुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ सालमा मन्दिर भएको ठाउँमा भोटीनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्तर्ध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना शुरू भएको स्थानीयवासीको भनाइ छ ।

१८ माघ २०७९